टोखा क्षेत्रमा अतिक्रमित संरचना हटाइँदै


काठमाडौँ
जिल्ला प्रशासन कार्यालय काठमाडौंले टोखा नगरपालिका–७ स्थित टहेल गोला चोक तथा आसपासका सार्वजनिक जग्गामा निर्माण गरिएका अतिक्रमित घर–टहरा हटाउने प्रक्रिया अघि बढाएको छ । जिल्ला आयुक्तको कार्यालयले सूचना जारी गर्दै सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन पहल सुरु गरिएको जनाएको हो ।

प्रशासनका अनुसार तोकिएको समयसीमाभित्र संरचना नहटाए काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०७४ अनुसार कानुनी प्रक्रिया मार्फत अतिक्रमण हटाइनेछ । साथै त्यस्ता संरचनामा बसोबास गर्ने व्यक्तिको सम्पत्ति रोक्का गर्ने, किनबेच तथा हस्तान्तरणमा रोक लगाउने जस्ता कारबाही पनि गरिने उल्लेख गरिएको छ ।

यसै क्रममा जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौंसँग समन्वय गरी आवश्यक शान्ति सुरक्षा व्यवस्था मिलाउँदै अतिक्रमण हटाउने कार्य अगाडि बढाएको जनाएको छ । सार्वजनिक जग्गा संरक्षण तथा अव्यवस्थित बसोबास नियन्त्रण गर्ने उद्देश्यले यस्तो कदम चालिएको प्रशासनको भनाइ छ ।