रविको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सम्बन्धी मुद्दा फिर्ता प्रकरण सर्वोच्च अदालत मा हेर्दाहेर्दै अवस्थामा राखिएको छ।

न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सोमबार भएको सुनुवाइपछि मुद्दा मंगलबारका लागि सारिएको हो।

सोमबार रिट निवेदकतर्फका कानुन व्यवसायीले प्रारम्भिक बहस गरेका छन् भने उनीहरूको बहस अझै बाँकी छ। निवेदक पक्षको बहस सकिएपछि मात्र लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिरक्षामा बहस गर्नेछन्।

यसअघि चैत ५ गते न्यायाधीश सारंगा सुवेदी र सुनिलकुमार पोखरेल को इजलासले अन्य इजलासमा सुनुवाइ गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ता कार्यालयबाट माग गरिएको निर्णय संशोधनसम्बन्धी फाइल पनि अदालतमा पेस भइसकेको छ।

महान्यायाधिवक्ता सबिता भण्डारी बराल ले लामिछानेसहितका आरोपितहरूको आरोपपत्र संशोधन गर्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको हो। उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुन विद्यार्थी आयुष बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका छन्।