अमेरिका–इरानबीचको वार्ता सकारात्मक भएको ट्रम्पको दाबी, आक्रमण पाँच दिनका लागि स्थगित


काठमाडौँ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिका र इरानबीच सकारात्मक वार्ता भएको बताएका छन्। उनले युद्ध अन्त्यतर्फ “पूर्ण समाधान” खोज्ने विषयमा पछिल्ला दुई दिनमा रचनात्मक छलफल भएको दाबी गरेका छन्।

ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने सम्भावित अमेरिकी आक्रमण पाँच दिनका लागि स्थगित गरिएको जानकारी दिएका छन्। ट्रुथ सोशलमा लेख्दै उनले छलफलको वातावरण सकारात्मक रहेकाले अस्थायी रूपमा सैन्य कारबाही रोक्ने निर्णय गरिएको उल्लेख गरेका छन्।

उनले भने, “मध्यपूर्वमा द्वन्द्वको पूर्ण समाधानका लागि अमेरिका र इरानबीच राम्रो र सकारात्मक छलफल भएको छ। यही आधारमा पाँच दिनका लागि आक्रमण स्थगित गर्न निर्देशन दिएको छु।” उनले यो निर्णय आगामी वार्ताको सफलतामा निर्भर रहने पनि स्पष्ट पारे।

बजारमा सकारात्मक प्रभाव

ट्रम्पको उक्त अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक संकेत देखिएको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ प्रतिशतले घटेर प्रति ब्यारेल ९६ अमेरिकी डलरमा पुगेको छ।

त्यस्तै, लन्डनको FTSE सूचकांक ०.५ प्रतिशतले बढेको छ, जुन यसअघि २ प्रतिशतभन्दा बढीले घटेको थियो। ग्यासको मूल्य पनि प्रति थर्म १५९ पेन्सबाट घटेर करिब १३९ पेन्समा झरेको छ।