काठमाडौँ
इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ ले पोखरामा आफ्नो पाँचौं शाखा विस्तार गर्दै नयाँ सेवाहरूको सुरुवात गरेको छ । ग्लोबल मनी विकको अवसर पारेर आइतबार शाखाको औपचारिक उद्घाटन गरिएको हो ।
शाखाको उद्घाटन अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेल तथा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिनाले संयुक्त रूपमा रिबन काटेर गरेका गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै अग्रज लगानीकर्ता पौडेलले ब्रोकरहरूको विस्तारसँगै पुँजी बजारको दायरा तीव्र गतिमा विस्तार हुँदै गएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले यस्ता शाखा विस्तारले लगानीकर्ताको पहुँच बढाउँदै बजारलाई थप सुदृढ बनाउने बताउनुभयो । त्यसैगरी, नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख तिमल्सिनाले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै आर्थिक क्रान्ति सम्भव हुने उल्लेख गर्दै वित्तीय क्षेत्रको विकासमा संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष सन्दीपकुमार चौधरीले शाखा विस्तारसँगै सूचना प्रविधि (आइटी) क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले आधुनिक प्रविधिको प्रयोगमार्फत लगानीकर्तालाई थप सहज र प्रभावकारी सेवा दिन सकिने उल्लेख गर्नुभयो । इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भत्तीराम घिमिरेले बजार विस्तारको रणनीतिअनुसार पोखरामा पाँचौं शाखा स्थापना गरिएको जानकारी दिँदै सम्पूर्ण लगानीकर्ताबाट सकारात्मक साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको बताउनुभयो । यसअघि, शाखा उद्घाटनको अघिल्लो दिन इम्पेरियल सेक्युरिटिजले करिब ४ सय लगानीकर्तालाई लक्षित गर्दै एक दिने निःशुल्क आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी तालिम कार्यक्रम पनि आयोजना गरेको थियो ।











प्रतिक्रिया