भुटनदेवीले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर कायम गर्ने


हेटौंडा ।

हेटौंडा–४ स्थित मकवानपुरकै पुरानो सामुदायिक भुटनदेवी माविले भौतिक र शैक्षिकस्तरमा अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्ने भएको छ । भुटनदेवी मावि र ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधिबीच आइतबार आईएसओमा जाने सम्झौता भएको हो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देल, विद्यालयका प्रअ सूर्यप्रसाद घिमिरे र काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, विद्यालय अनुगमन समिति सदस्यहरुलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र सूचकबारे अभिमुखीकरण सञ्चालन गरिएको विद्यालयका प्रअ घिमिरेले जानकारी दिनुभयो ।

एक वर्षभित्र अर्थात आगामी २०८३ चैत मसान्तभित्र अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण गरिसक्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिग्देलले बताउनुभयो । उहाँले भौतिक संरचनाको गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरणमा अन्तर्राष्ट्रियस्तरको मापदण्ड कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयको प्रारम्भिक बस्तुस्थिति परीक्षण र आगामी ३ वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएको ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि शर्माले जानकारी दिनुभयो । शर्माले सामुदायिक विद्यालयमा मकवानपुरको पहिलो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण भएको विद्यालय भुटनदेवी मावि हुने बताउनुभयो ।

विभिन्न चरणमा भएको छलफल र अन्तत्र्रिmयामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिग्देल, प्रअ घिमिरे, ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि शर्मासहित टोली, शिक्षक–अभिभावक संघ नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विद्यालय अनुगमन समिति संयोजक इन्द्रप्रसाद नेपाल, टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरि दाहाललगायत विभिन्न समितिका सदस्यबीचको छलफलपछि अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झौता गरिएको विद्यालय सहायक प्रअ तथा विद्यालय आईएसओ वेदराज कोइरालाले स्पष्ट पार्नुभयो ।