खोटाङ ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य राजकुमार हिङमाङले विश्व र नेपालको कम्युनिष्ट आन्दोलन संकटग्रस्त अवस्थामा पुगेको संकेत गर्नुभएको छ ।

खोटाङको दिक्तेलवजारमा पत्रकार सम्मेलन गर्दै पार्टी बनाउने नाममा मात्र पार्टी गठन गरेको नभई कम्युनिष्ट आन्दोलनलाई मुर्त रुप दिन आफनो पार्टी आवश्यक रहेको उहाँको भनाई छ ।
केन्द्रीय सदस्य हिङमाङले नेपाली समाजको अन्तरबिरोधहरुको हल नगरी अघि बढन नसकिने बताउनुभयो । हलेसी न्युज नेटवर्क प्रालिको कार्यालयमा हालै सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा हिङमाङले आफ्नो पार्टी दलाल पुँजीवादी ब्यवस्थाको विरोधमा रहेको स्पष्ट पार्नुभयो ।
उक्त ब्यवस्थाले नेपाली समाजको अन्तरबिरोधहरुलाई हल गर्न नसकेको उहाँको भनाई छ । मुख्य पाँच अन्तरबिरोधहरु बर्गीय अन्तरबिरोध, पितृसत्तामा आधारित अन्तरबिरोध, जात ब्यवस्थामा आधारित अन्तरबिरोध, जातीय अन्तरबिरोध र वैदेशिक हस्तक्षेपमा आधारित अन्तरबिरोधहरु हल नगरी नेपाली समाजको समस्या समाधान नहुने केन्द्रीय सदस्य हिङमाङको जिकिर छ ।
यस्ता बिषयलाई पुराना पार्टीहरुले यदाकदा कोट्याउन खोजे पनि जरामा अर्थात आधारभूत पक्षमा पुग्न नसकेको उहाँको भनाई छ । देशमा भएको बिभिन्न काल खण्डको आन्दोलन, १० बर्षे जनयुद्द तथा त्यसले ल्याएको परिवर्तनहरुले समेत जनताका आधारभूत समस्याहरुलाई सम्बोधन गर्न नसकेका कारण वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी गठन गरिएको पत्रकार भेटघाटमा उल्लेख गरिएको छ ।
नेपालमा कम्युनिष्ट आन्दोलन तथा विश्व कम्युनिस्ट आन्दोलन नै छाँयामा पर्दै गएको कारणले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीमार्फत क्रान्ति प्रक्रिया अघि बढाउने दृष्टिकोण रहेको पत्रकार सम्मेलनमा जनाईएको छ ।
केन्द्रीय समिति, ब्युरो समिति र स्थानीय समितिको संरचनामा रहेको उक्त पार्टी पदानुक्रम(हाईरारकी)मा आधारित नहुने उल्लेख गरिएको छ । तल्लो तहका समिति निर्माण हुने र सोही समितिहरुले स्वायत्त ढंगले निर्णय गर्ने ब्यवस्था गरिएको जनाईएको छ ।
पार्टीले ब्युरो संरचनाहरु पहिचानमा आधारित रहेर निर्माण गरिएको समेत केन्द्रीय सदस्य राजकुमारले जनाउनुभयो । उहाँका अनुसार किरात, लिम्बुवान,कोचिला, भोजपुरा, ताम्सालिङ, नेवाः जस्ता नेपालका पहिचानमा आधारित समुदाय अर्थात समाजको आधारमा ब्युरो संरचना निर्माण गरिएको छ ।
बिश्वभक्त दुलाल(आहुती)को नेतृत्वमा २०७८ सालमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल स्थापना भएको थियो । सो पार्टीले ‘कम्युनिस्ट पुनर्जागरण अभियान’ प्रस्ताव समेत अघि सारेको छ । विश्व र नेपालको कम्युनिष्ट आन्दोलन संकटग्रस्त अवस्थामा पुगेको भन्दै आजको युगको पुँजीवादसँग लड्न सक्षम वैचारिक, राजनीतिक, संगठनात्मक र वर्ग संघर्षका क्षेत्रमा अनिवार्य विचारको विकासका लागि यस्तो प्रस्ताव अघि सारिएको जनाएको छ ।
समाजवादको यात्रालाई जोड दिँदै २५ वटा केन्दमार्फत सामुहिक उत्पादनलाई समेत जोड दिएर लागिरहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले जनाएको छ । उत्पादनलाई ब्यवस्थित गर्दै थोरैमा पाँच र धेरैमा ४९ जनाको समुह बनाएर उत्पाद कार्य गरिरहेको जनाईएको छ ।
देशको ७७ वटै जिल्लामा सम्पर्क तथा ५० भन्दा माथि जिल्लामा कार्य समिति गठन गरेको उक्त पार्टीले जनाएको छ । अन्तराष्ट्रमा समेत १५ देशमा संगठित संरचना रहेको पार्टीको सहकर्मी अर्थात जनबर्गीय र शुभचिन्तक संगठनहरु रहेको उल्लेख छ ।
नेपाली समाज मात्र नभई विश्व समाज नै पुँजीवादको चङगुलमा फस्दै गएको र सो ब्यवस्थाबाट समाजको प्रगति नहुने सो पार्टीको ठहर छ ।।











प्रतिक्रिया