दुर्घटनामा ज्यान गुमाएका चालक सुनारको पोष्टमार्टम रोकियो

846
Shares

हुम्ला।

ट्याक्टर दुर्घटनामा परी घाइते भई उपचारका क्रममा मृत्यु भएका चालक नरेन्द्र सुनारको पोष्टमार्टम कार्य हालसम्म स्थगित भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवराज ढकालका अनुसार मृतकका परिवारजनले क्षतिपूर्ति सुनिश्चित नभएसम्म अन्य प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका कारण पोष्टमार्टम रोकिएको हो।

परिवार र ट्याक्टर धनीबीच क्षतिपूर्ति सम्बन्धी छलफल तथा सहमतिको प्रयास जारी रहेको बताइएको छ। सहमति भएपछि मात्रै पोष्टमार्टम गरी शव परिवारलाई बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटना गत शुक्रबार साँझ सिमकोट गाउँपालिका–६, ग्वालढुस्कामा भएको थियो। सिमकोटतर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई जिल्ला अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।

चिकित्सकले अवस्था गम्भीर रहेको जनाउँदै थप उपचारका लागि बाहिर रिफर गर्न सुझाव दिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। हाल मृतकको शव जिल्ला अस्पतालमा सुरक्षित राखिएको छ।