आइक्यानको ‘पहिलो क्याम्पस प्लेसमेन्ट’ कार्यक्रम सम्पन्न, २० कम्पनी र ९२ सिए सहभागी


काठमाडौँ
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरूलाई उनीहरूको करियर सुरुवातमा सहयोग पु¥याउने उद्देश्यले आइक्यानले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम २० मार्च २०२६ अर्थात् २०८२ साल चैत ६ गते आयोजना गरी सम्पन्न गरेको हो ।

यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने आइक्यानले विश्वास लिएको छ ।

आइक्यानले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना गरेको छ ।
आइक्यानका अध्यक्षा सिए निल बहादुर सारु मगरले भने, ‘क्याम्पस प्लेसमेन्ट कार्यक्रममा २० वटा कम्पनीहरूले भाग लिनु भएको छ, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी पास गर्नुहुने ९२ जना सिएहरूले यसमा भाग लिनु भएको छ, कार्यक्रममा भाग लिनुहुने २० वटा कम्पनीहरू र सिएहरूलाई शुभकामा छ, नयाँ चार्टर्ड एकाउन्टेन्टहरूको करियर सुरुवातमा सहयोग गर्ने आइक्यानको दृढ विश्वास रहेको छ । यो कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त अवसरसँग जोड्ने तथा नेपालमा दक्ष, इमानदार र नैतिक लेखा विज्ञहरूको बढ्दो आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो ।’

यता आइक्यानका उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेले कार्यक्रमको बारेमा बोल्दै भन्नुभयो, आइक्यानले पहिलो पटक ऐतिहासिक रुपमा पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आयोजना गरेको छ, यो एउटा इन्टरनेशनल प्रायाक्टिस् पनि हो, क्याम्पस प्लेसमेन्टले विद्यार्थीलाई सुरुमै राम्रो कम्पनीमा काम गर्ने मौका दिन्छ, जसले उनीहरूको करियर बलियो बनाउँछ, साथै, सिए विद्यार्थीलाई छिटो, राम्रो र सुरक्षित करियर सुरु गर्न ठूलो सहयोग पुग्छ, क्याम्पस प्लेसमेन्टले युवाहरूलाई आत्मनिर्भर, आत्मविश्वासी र सक्षम बनाउँछ, जसले समाज र देशको विकासमा योगदान दिन सक्छन् ।’

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको यस संस्था नेपालमा लेखाव्यवसायको नियमन र प्रवद्र्धन गर्ने स्वायत्त संस्था हो। यस क्याम्पस प्लेसमेन्ट कार्यक्रममार्फत आइक्यानले दक्ष, इमान्दार र पेशागत रूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टहरूलाई अग्रणी रोजगारदाता संस्थाहरूसँग जोड्ने उद्देश्य राखेको छ ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्महरू, विकास क्षेत्रका संस्थाहरू, स्टार्टअप तथा फिनटेक कम्पनीहरू तथा अन्य रोजगारदाताहरुको सहभागिता थिए । कार्यक्रममा संस्थाका नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरू सहभागी छन् र रोजगारदाता संस्थाहरूसँग अन्तर्वार्ता तथा अन्तरक्रियाको अवसर प्राप्त भएको छ ।

आइक्यानको यस पहलले चार्टर्ड एकाउन्टेन्टहरूको करियर विकासलाई सशक्त बनाउनुका साथै संस्थालाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।