रमेश कर्पकोे सधैं सँगै हरेक पलमा’ भावनासहित छैटौं संस्थापक दिवस सम्पन्न


काठमाडौँ
रमेश कर्पले काठमाडौंको गोदावरी भिलेज रिसोर्टमा रंगीन र उत्साहपूर्ण कार्यक्रमको आयोजना गर्दै आफ्नो छैटौं संस्थापक दिवस मनाएको छ । ‘सधैं सँगै, हरेक पलमा’ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रमले कर्मचारी र व्यवस्थापनबीच एकता, कृतज्ञता र साझा लक्ष्यको अनुभूति सृजना गराएको कर्पले जनाएको छ ।

कार्यक्रमलाई जीवन्त र यादगार बनाउनलाई कार्यक्रम अवधिभर खेलकुद, सांगीतिक प्रस्तुति, मनोरञ्जन र स्वादिष्ट परिकारका स्टल राखिएको थियो । यो कार्यक्रमले रमेश कर्प परिवारका सदस्यबीच सहकार्य र सम्बन्ध बलियो बनाउने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

रमेश कर्पमा संस्थापक दिवस वार्षिक रूपमा चैत्र ६ मा मनाइन्छ, जसले स्वर्गीय अध्यक्ष इमेरिटस रमेश गुप्ताको जन्मजयन्तीको सम्झना गर्दछ । संस्थापकको दूरदर्शी नेतृत्व र मूल्य—इमानदारी, अग्रणी सोच, गतिशीलता, वास्तविकता र व्यावसायिकता ले कम्पनीको आधार तयार पारेको थियो । यस दिनले ती मूल्यलाई पुनः पुष्टि गर्दै संस्थापकको योगदानको सम्मान गरेको छ ।

संस्थापक दिवसको मुख्य आकर्षण रहेको पुरस्कार समारोहमा कर्मचारीको समर्पण, नेतृत्व र योगदानको सम्मान गरिएको थियो । यस अवसरमा प्रदान गरिएका पुरस्कारहरूमा फाउन्डर लोएल्टी अवार्ड, रमेश गुप्ता भिजनरी लिडरशीप अवार्ड, रमेश गुप्ता राइजिङ लिडर अवार्ड, फाउन्डर्स स्टार प्रफर्मर अवार्ड, राइजिङ स्टार अवार्ड र एकस्लिेन्स इन लिडरशीप अवार्ड समावेश थिए । यी सम्मानले कम्पनीका मूल्य र संगठनमा योगदान दिने व्यक्तिको योगदानलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।