काठमाडौँ
ग्लोबल मनी विक २०२६ को अवसरमा पोखरामा एक दिने निःशुल्क आधारभूत तथा प्राविधिक विश्लेषण सम्बन्धी शेयर बजार तालिम कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
इम्पेरियल सेक्युरिटिज ब्रोकर नं. ४५ द्वारा आयोजित कार्यक्रममा कलेज तथा विभिन्न विश्वविद्यालयका विद्यार्थीसहित ठूलो संख्यामा सहभागीको उपस्थिति रहेको थियो । कार्यक्रम इम्पेरियल सेक्युरिटिजको आधिकारिक फेसबुक पेज तथा नेप्से ट्रेडिङ डट कमको युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले शेयर बजारमा लगानी गर्न ठूलो पूँजी आवश्यक नपर्ने र आफ्नो क्षमता अनुसार सानो लगानीबाट पनि सुरु गर्न सकिने बताएका थिए । अन्य क्षेत्रजस्तो निश्चित पूँजीको बाध्यता नरहेकोले शेयर बजार अर्बपतिदेखि सामान्य लगानीकर्तासम्मका लागि समान अवसरको क्षेत्र भएको उल्लेख गरिएको थियो ।
नियामक निकायको सक्रियता तथा ब्रोकर कम्पनीको भूमिकाका कारण पछिल्लो समय शेयर बजारमा लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दै गएको पनि कार्यक्रममा जानकारी दिइयो । यद्यपि, लगानी गर्दा कुन कुरालाई प्राथमिकता दिने भन्ने ज्ञान सबैमा नहुन सक्ने भएकाले यस्ता तालिम कार्यक्रमको आवश्यकता रहेकोमा जोड दिइएको थियो ।
कार्यक्रममा इम्पेरियल सेक्युरिटिजका कार्यकारी अध्यक्ष भत्तीराम घिमिरेको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रूपमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी सहभागी हुनुभएको थियो । विशिष्ट अतिथिमा नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका प्रमुख केशव प्रसाद तिमल्सिना तथा राष्ट्रिय बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्र रहेका थिए ।
त्यसैगरी, अग्रज लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले दुई दशकभन्दा बढीको अनुभवका आधारमा बजारको आधारभूत विश्लेषण प्रस्तुत गर्दै लगानी गर्दा अध्ययन र धैर्यता अपनाउनुपर्नेमा जोड दिएका थिए । राम्रो कम्पनीमा दीर्घकालीन लगानी गरेमा पछुताउन नपर्ने धारणा उनले व्यक्त गर्नुभयो ।
नेप्से ट्रेडिङ डट कमका कार्यकारी अध्यक्ष तथा विश्लेषक सन्दीप कुमार चौधरीले कार्यक्रममा फण्डामेन्टल तथा टेक्निकल विश्लेषण सम्बन्धी विशेष सत्र सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि डा. नवराज अधिकारीद्वारा पानसमा बत्ती बालेर गरिएको थियो भने राष्ट्रिय गानसँगै कार्यक्रमलाई थप औपचारिकता दिइएको थियो ।
यसै अवसरमा इम्पेरियल सेक्युरिटिजले पोखरामा आफ्नो पाँचौं शाखा उद्घाटन गरेको जानकारी दिँदै ब्रोकर नं. ४५ मार्फत पोर्टफोलियो म्यानेजमेन्ट सेवा –पिएमएस) तथा मार्जिन ट्रेडिङ सेवा सुरु गरिएको घोषणा गरिएको छ ।
साथै, ग्राहकलाई लक्षित गर्दै डिम्याट खाता र मेरो शेयर सेवा एक वर्षका लागि निःशुल्क उपलब्ध गराइने विशेष अफर पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले शेयर बजारसम्बन्धी महत्वपूर्ण ज्ञान हासिल गरेको र यस्ता कार्यक्रमहरूले लगानीकर्तालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका छन् ।











प्रतिक्रिया