रुकुम पूर्वमा भारी हिमपात, दर्जनौं यात्रु अलपत्र मध्यपहाडी लोकमार्ग अवरुद्ध


रुकुम पूर्व ।

रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्डमा गएरातिदेखि भइरहेको निरन्तर हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा काठमाडौँबाट छुटेका ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन्। यस घटनामा २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरीक्षक केशवराज ज्ञवालीका अनुसार, निरन्तर वर्षा र हिमपातले सडक सञ्चालनमा चुनौती थपेको छ।

साथै, सो क्षेत्रमा फोन सेवा पनि अवरुद्ध भएपछि उद्धार प्रयासमा कठिनाइ बढेको छ। यद्यपि, स्थानीय तहसँग समन्वय गरेर यात्रुहरूको उद्धारको काम भइरहेको छ।