अन्तरिम सरकारद्वारा संघीय संसद् अधिवेशन चैत १६ मा आह्वान हुने


काठमाडौँ ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो अधिवेशन चैत १६ गतेका लागि आह्वान गरिने भएको छ। अन्तरिम सरकारले अधिवेशन आह्वानका लागि शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएको छ।

सरकारका एक मन्त्रीका अनुसार नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गतेका लागि तय भइसकेको छ। संवैधानिक व्यवस्था अनुसार अधिवेशन आह्वान गर्दा कम्तीमा ७ दिनको समय राख्नुपर्ने भएकाले अन्तरिम सरकारले नै अधिवेशन बोलाउनुपर्ने अवस्था आएको हो।

यसअघि अधिवेशन आह्वान अन्तरिम सरकारले गर्ने कि नयाँ सरकारले भन्ने विषयमा अन्योल रहेको थियो। सरकारले अनौपचारिक रूपमा संघीय संसद् सचिवालयलाई चैत १६ गतेका लागि तयारी गर्न निर्देशन दिइसकेको जनाइएको छ।