काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक महिला लिग स्थगित गरेको छ । चैत ४ गतेदेखि सुरु गरिएको एक दिनपछि नै सो महिला लिग स्थगित भएको हो । .राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृती बिना नै एन्फाले प्रतियोगिता सुरु गरेको हो ।
एन्फाले जनाएअनुसार लिग सुरु गर्न राखेपसँग स्विकृति मागेको तर, राखेपले स्विकृति नदिएको जनायो । लिगको लागि स्वीकृती नदिएपछि विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रिया अगाडि बढाउन नमिल्ने भन्दै फागुन २८ गते नै बुझाएको फाइल अगाडि नबढाएको एन्फाको एक पदाधिकारीले बताए । एन्फाले सबै सहभागी ९ क्लबलाई पाँचौं नम्बरको खेल देखि नै खेल स्थगित हुने पत्र पठाएको छ । .
यसैगरी एन्फाले पुरुषको राष्ट्रिय लिग पनि स्थगित भएको जानकारी गरायो । राष्ट्रिय लिग मा पनि अध्यागमन विभागले विदेशी खेलाडीको हकमा श्रम स्विकृति भएमा मात्रै खेलाउन पत्र पठाएको हो । यसपछि लिगका बाँकी सबै खेल स्थगित हुने उल्लेख गरेर एन्फाले सहभागी सबै क्लबलाई पत्र पठाइसकेको जनायो । लिगमा अझै ३८ खेल बाँकी छ ।
अध्यागमन नियमावली २०५१ को नियम २० मा भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको लागि भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था रहेको पत्रमा विभागले लेखेको छ । यो नियम उल्लंघनको गरेको पाइएमा एन्फालाई तत्काल कारबाही गरिने चेतावनीसमेत अध्यागमन विभागले दिएको छ ।
अहिले करिब तीन दर्जन विदेशी खेलाडीले राष्ट्रिय लिग खेलिरहेका छन् । ती मध्ये चित्लाङ एफसीका विदेशी खेलाडीबाहेक अन्य क्लबका विदेशी खेलाडीसँग श्रम स्वीकृति नै नभएको खुल्न आएको छ ।
उनीहरूको श्रम स्वीकृतिका लागि एकमुष्ट रूपमा प्रक्रिया अगाडि बढी सकेको, फाइल युवा तथा खेलकुद मन्त्रालयमा अड्किएको र विभिन्न अनावश्यक कारण नियतवश मन्त्रालयले सहयोग नगरेको पनि एन्फाको भनाइ रहेको छ ।











प्रतिक्रिया