बुटवल।
मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा इन्धन (पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास) आपूर्तिमा असर परेको चर्चा भइरहेको समयमा भने रुपन्देही जिल्लामा त्यस्तो समस्या नरहेको व्यवसायीहरुले औँल्याएका छन् । परनिर्भर नेपालको अर्थतन्त्रमा बाह्य परिस्थितिको प्रभावले हरेक क्षेत्रमा समस्या देखिनु कुनै नयाँ कुरा भने होइन ।
सरकारले नै खाना पकाउने ग्यास आपूर्तिमा कमी आएको भन्दै केही दिन अघि देखि आधा मात्र भरिएको सिलिन्डर विक्री गर्न निर्देशन गरेको छ । सोही अनुसार ग्यास उद्योगले पनि आधा सिलिन्डर मात्र भरेर बजारमा ल्याएका छन् । उपभोक्ताहरुले भने ग्यास अभाव हुने भन्दै घरघरमा अनावश्यक ग्यास सञ्चिति गर्दा बजारमा कृत्रिम अभाव देखिएको रुपन्देही ग्यास बिक्रेता संघका अध्यक्ष प्रदीय प्रसाद पन्थले बताए । अध्यक्ष पन्थले ग्यासको कुनै अभाव नरहेको भन्दै ग्यास नपाएको खण्डमा उपभोक्तालाई सिधै संघमा सम्पर्क गर्न समेत आह्वान गरेका छन् । जिल्लामा करिब ५ सय ग्यास बिक्रेता संघमा आबद्ध रहेको र करिब सोही अनुपातमा संघमा आबद्ध नभएका व्यवसायीहरुले समेत ग्यास बिक्री गदै आएको दाबी अध्यक्ष पन्थको छ । बजार अनुगमन गर्ने अधिकार प्राप्त निकायले अनुगमनलाई कडाई गर्न र एउटै उपभोक्तालाई एकै पटकमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नदिन समेत अध्यक्ष पन्थले सुझाव दिएका छन्।
साबिकको लुम्बिनी अंचलका ६ जिल्ला ,र स्याङजा,पूर्वी रुकुम र बाग्लुङको एक पम्पमा समेत पेट्रोलियम पदार्थ आपूर्ति गदै आएको नेपाल आयल निगम भलवाडी डिपोका प्रमुख शैलेन्द्र भुसालले यस क्षेत्रमा पेट्रोलियम पदार्थको कुनै समस्या नरहेको बताए । यस क्षेत्रमा दैनिक ७ सय देखि ८ सय केएल डिजल, २५० देखि ३ सय केएल पेट्रोल र १० हजार लिटर मटीतेलको माग हुने गरेको प्रमुख भुसालले बताए । यस क्षेत्रका पेट्रोलियम व्यवसायीहरुको हकहितका लागि स्थापित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष हिमाल गैरेले पेट्रोलियम पदार्थको यस क्षेत्रमा कुनै समस्या नरहेको भन्दै व्यवसायीहरुले माग गरे अनुसार निगमबाट सहज रुपमा सप्लाई भइरहेको बताए ।
पेट्रोलियम पदार्थ र ग्यास प्रयोगकर्ता उपभोक्ताहरुले भने बजारमा कृतिम अभाव हुन नदिन सरोकारवाला निकाय गम्भीर हुन माग गरेका छन् ।
बजारमा इन्धनमा कालोवजारी नहोस् र कृत्रिम अभाव सिर्जना नगरियोस् भनी बुटवल उद्योग वाणिज्य संघ , तिलोत्तमा उद्योग वाणिज्य संघ ,भैरहवा उद्योग वाणिज्य संघ ,रुपन्देही उद्योग संघ ,उद्योग व्यापार संघ बुटवल लगायतका संघ संस्थाहरुले विज्ञप्ति समेत निकालेर आपूर्ति प्रणालीलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन आग्रह गरेका छन् ।











प्रतिक्रिया