सुर्खेत ।
स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जबाफदेही बनाउने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा एक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बुधवार वीरेन्द्रनगरमा सम्पन्न ‘स्थानीय सरकारको सेवा प्रवाहमा जबाफदेहिता, अभ्यास र अवलम्बन’ विषयक उक्त समीक्षा कार्यक्रममा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा भेरीगंगाकी उपप्रमुख धनसरा बोहरा, लेकबेशी नगरपालिकाकी उपप्रमुख विमला खडलुक र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिकाका जनप्रतिनिधिहरूका साथै विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।

समीक्षाका क्रममा तीनवटै नगरपालिकाका तर्फबाट जबाफदेहिता, पारदर्शिता र सुशासनका सन्दर्भमा अवलम्बन गरिएका असल अभ्यासबारे प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा सहभागी ८० जना सरोकारवालाहरूमध्ये किसान, विभिन्न संघ-संस्थाका प्रतिनिधि र अपाङ्गता भएका नागरिकहरूले स्थानीय सरकारबाट प्रवाहित सेवाका सम्बन्धमा आफ्ना जिज्ञासा र अपेक्षा राख्दै प्रत्यक्ष अन्तर्क्रिया गरेका थिए । सो अवसरमा महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालाले कार्यक्रमको अवधारणा र जवाफदेहिताका अभ्यासमा समेट्नुपर्ने मुख्य विषयहरूमाथि प्रकाश पार्नुभएको थियो । नागरिक र अधिकारका संवाहकबीच संवाद सिर्जना गर्न र पारस्परिक उत्तरदायित्व वृद्धिका लागि ‘सामुदायिक अङ्कपत्र’ जस्ता विधिलाई प्रभावकारी रूपमा प्रयोगमा ल्याउने प्रतिबद्धता समेत सो क्रममा प्राप्त भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले जवाफदेहिताका सन्दर्भमा प्रयोग हुँदै आएका सूचक र अभ्यासहरूलाई परिमार्जन गर्दै थप जिम्मेवार सरकार बन्न आवश्यक रहेको बताए । उनले नागरिकको अपेक्षा अनुरुप अगाडि बढ्न स्थानीय तह सदैव तयार रहने समेत स्पष्ट पारे ।

भिएओ (VAO) नेपालसँगको सहकार्यमा सञ्चालित ‘एक्टीभ परियोजना’ को स्रोत साझेदारीमा सम्पन्न उक्त कार्यक्रम महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीको अध्यक्षतामा सञ्चालन भएको थियो । अध्यक्ष केसीले कार्यक्रममा व्यक्त गरिएका प्रतिबद्धताहरूलाई कार्यान्वयन गराउन महासंघको तहगत संरचनाले सम्बन्धित निकायमा निरन्तर पैरवी र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।











प्रतिक्रिया