उदयपुरमा दुर्घटना कहालीलाग्दो : दुई महिनामा ८६ दुर्घटना, ८ जनाको ज्यान गयो

564
Shares

उदयपुर । 

उदयपुरको सडकमा सबैभन्दा बढी सडक दुर्घटना मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिकाको वडा नं ७ स्थित अधेरीमा हुने गरेको र २०८२ माघ र फागुन दुई महिनामा मात्र ८६ वटा दुर्घटना भएका छन् ।

माघ र फागुन महिनामा भएका दुवै दुर्घटनामा परेर ८ जनाको ज्यान गएको छ भने १ सय ५९ जना घाइते भएका छन् । १ सय २१ वटा सवारी दुर्घटनामा संलग्न रहेको र प्रहरीले ९४ जनाको उद्धार गरेर उपचारकालागि अस्पताल लगेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार माघ र फागुन महिनामा गरी चालकका कारणले ३८ वटा दुर्घटना भएको छ भने सवारी साधनका कारण ५ वटा दुर्घटना भएको छ ।

यसैगरी यात्रुका कारण ४ वटा दुर्घटना, सडकको अवस्थाका कारण ६ वटा दुर्घटना,चौपायाका कारणले २ वटा र अन्य कारणले ३१ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटना न्युनिकरणकालागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालक, सह चालकलाई, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई तथा यात्रुहरुलाई पनि सचेतना कार्यक्रम सञ्चालन गरेर सवारी दुर्घटनाबाट बँच्नकालागि सचेत भएर यात्रा गर्न सवारी चलाउन कक्षा सञ्चालन गर्ने गरेको छ । यसरी कक्षा सञ्चालन सचेतना कार्यक्रम सञ्चालन गरेको भए पनि दुर्घटनामा कमी नआएको हुँदा सडक सुधारको कार्यक्रम र सवारी साधनलाई पनि चुस्त  र दुरुस्त राख्नु पर्ने बताइएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँले जिल्लामा सबैभन्दा बढी दुर्घटना मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका वडा नं ७ स्थित  अधेरीको जंगल क्षेत्रमा हुने गरेको जानकारी दिँदै दुर्घटनामा हालसम्म यात्रु बाहक बस नपरेको र साना सवारी साधनहरु मोटरसाइकल, अटो, माइक्रोबस,ट्रक लगायतका सवारी साधनहरु बढी दुर्घटना हुने गरेको बताए ।

 प्रहरी उपरीक्षक चापागाईँले सवारी दुर्घटना न्युनिकरणकालागि सवारी चालकहरुलाई सावधानी पूर्वक सवारी चलाउन, विस्तारै सवारी चलाउन सम्झाउने गरेको भए पनि बढी स्पिडमा गाडी चलाउँदा एकापसमा सवारी साधन ठोकिएर बढी दुर्घटना हुने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार दुवै महिनामा गरी जम्मा ३ हजार ३ सय ४१ वटा सवारी चेकिङ गरेकोमा ७ सय ४२ वटा सवारी साधनलाई कारबाही गर्दा ७ लाख ९९ हजार राजस्व सङ्कलन भएको छ ।