कैलालीमा डीएसपीमाथि हातपातपछि गुल्मको टोली फिर्ता, छानबिन समिति गठन


कैलाली ।

कैलालीमा स्थानीयको एक समूहले सशस्त्र प्रहरीको गुल्ममा छिरेर डीएसपीसहितका सशस्त्र प्रहरीमाथि हातपात गरेको छ ।

खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरमा स्थानीय युवाले कार्यालय परिसरमा पसेर सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलमाथि हातपात गरिएको बताइएको छ ।

डीएसपी पौडेलले ज्यादती गरेको आरोप लगाउँदै गुल्ममै छिरेर त्यहाँका व्यापारी र सर्वसाधारणले हातपात गरेका थिए । स्थानीयका अनुसार त्यहाँका व्यापारीले भारतबाट ल्याएको सामान सशस्त्र प्रहरीले बरामद गरेको थियो । सोहीबारे गुल्ममा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको सहभागीतामा छलफल भइरहेको थियो ।

छलफल सकिएपछि स्थानीय युवाहरु गुल्ममै छिरेर हातपातमा उत्रिएका हुन् । घटनापछि गुल्ममा कार्यरत डीएसपी पौडेल बाहेक सिंगो टोलीलाई जिल्लामा तान्ने निर्णय भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीले डीएसपी पालबाहेक ३१ जना सशस्त्र प्रहरीको टोली पठाउन लागिएको जनाएको छ । घटनाको छानबिन गर्न समिति पनि बनाइएको बताइएको छ ।