सुकेधारामा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं ।

काठमाडौंको सुकेधारामा बोलेरो जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। सर्लाही घर भई हाल काठमाडौंको बालुवाखानी बस्दै आएका ३७ वर्षीय वीरेन्द्र शाह घाइते भएका थिए। चैत ३ गते दिउँसो राजेश हार्डवेयरबाट सामान झारेर निस्कँदै गरेको बा.१५ च ८५५० नम्बरको बोलेरोले उनलाई ठक्कर दिएको हो।

गम्भीर घाइते शाहको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा संलग्न बोलेरो चालक ओखलढुङ्गा घर भई नयाँ बानेश्वर बस्ने २३ वर्षीय सुनिल राईलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।