उत्पादनमा जोड्न महिलालाई बाख्रा वितरण

0
Shares

स्याङ्जा। 

स्याङ्जाको वालिङ नगरपालिका–११ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठापाठी वितरण गरिएको छ । स्थानीय कागतीभञ्ज्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो । महिला सदस्यहरुलाई बीउ पाठी वितरण गर्नु हुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई उत्पादनमा जोड्ने अभियानमा पालिका लागि परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“साना किसान तथा महिलाहरुलाई उत्पादनमा जोड्ने अभियानका साथ नगरपालिकाले काम गरिरहेको छ ।”

सो अवसरमा उपप्रमुख तिवारीले स्थानीय उत्पादनको बजारीकरणका लागि पैचो कार्यक्रम सञ्चालन गर्न लागिको बताउनुभयो । १४ वटै वडाका कृषकले उत्पादन गरेका बस्तुलाई सहज रुपमा बजार सम्म पु¥याउने पालिकाको योजना रहेको उहाँको भनाइ छ । गाउँगाउँमा उत्पादन भएका सामाग्रीहरुको सहज बजारीकरण पश्चात् उत्पादन बढ्ने तिवारीको विश्वास छ । कार्यक्रममा बोल्नुहुँदै  वडा नं. ११ का वडाअध्यक्ष डण्डपानी पंगेनीले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको जानकारी दिनुभयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सबल हुने उहाँको भनाइ छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाहरु उत्पादनमा जोडिन जरुरी रहेको पंगेनीले बताउनुभयो ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत भोकालाई एक छाक भोजन होइन , जिउने जुक्ति सिकाऔँ भन्ने मुल नाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको वालिङ कृषि विकास परियोजना अन्तर्गत बीउका रुपमा पाठापाठी वितरण गरिएको नगरपालिकाले जनाएको छ । बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

कार्यक्रम अन्तर्गत कागतीभञ्ज्याङ स्वावलम्वी महिला बाख्रापालन समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ । उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाका कर्मचारी सुस्मिता पौड्यालले जानकारी दिनुभयो । वालिङ नगरपालिकाको वडा नं.१ देखि १४ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।