नारायणगढ-मुग्लिन सडकका ४३ स्थान पहिरोको जोखिममा, नियन्त्रणका लागि तयारी तीव्र


चितवन ।

देशकै महत्वपूर्ण राजमार्गमध्ये पर्ने नारायणगढ–मुग्लिन सडकखण्डका दर्जनौँ स्थान पहिरोको जोखिममा रहेका छन्। सडक डिभिजन कार्यालय भरतपुरले गरेको विस्तृत अध्ययन अनुसार यस सडकका ४३ स्थानमा पहिरोको खतरा देखिएको हो। तीमध्ये ८ स्थान उच्च जोखिममा, २२ स्थान मध्यम जोखिममा र १३ स्थान सामान्य जोखिमको श्रेणीमा राखिएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन खोला क्षेत्र सबैभन्दा जोखिमपूर्ण रहेको छ, जसलाई अति उच्च जोखिमको रूपमा पहिचान गरिएको छ। यससँगै काली र नाम्सी खोलाका आसपासका भूभागहरू पनि पहिरोको दृष्टिले संवेदनशील मानिएका छन्। ती क्षेत्रमा पहिरो नियन्त्रणका लागि आवश्यक योजना तयार गरी स्वीकृतिका लागि माघ २३ गते सडक विभागमा पठाइसकिएको उनले जानकारी दिए। विभागबाट डिजाइन कार्य अन्तिम चरणमा पुगेको र छिट्टै कार्यान्वयन सुरु हुने अपेक्षा गरिएको छ।

उच्च जोखिममा रहेका तुइन, काली र नाम्सी खोलाका क्षेत्रहरूमा पहिरो रोकथाम गर्न विपद् व्यवस्थापन शीर्षकअन्तर्गत २५ करोड रुपैयाँ बजेट छुट्याइएको छ। यसबाहेक अन्य जोखिमयुक्त स्थानहरूमा आवश्यक संरचना निर्माण तथा पहिरो न्यूनीकरणका लागि थप २० करोड रुपैयाँ विनियोजन गरिएको छ। नक्सांकन कार्य सम्पन्न भइसकेकाले अब केही दिनभित्रै बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाइने तयारी रहेको प्रमुख लामिछानेले बताए। वर्षायाम सुरु हुनुअघि नै सम्भव भएसम्म सबै संवेदनशील क्षेत्रमा काम सक्ने लक्ष्य लिइएको छ।

केही वर्षअघि सडक विस्तारका क्रममा पहाडका भित्ताहरू काटिएको कारणले पनि जोखिम बढेको जनाइएको छ। ती स्थानहरूमा माटो खुकुलो हुनुका साथै वर्षा हुँदा लेदोसहितको पहिरो खस्ने समस्या बारम्बार दोहोरिँदै आएको छ। यसले विशेषगरी वर्षायाममा सवारी आवागमनमा अवरोध पुर्‍याउने गरेको छ।
दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने यो सडक राजधानी काठमाडौँलाई देशका अन्य भागसँग जोड्ने मुख्य ‘लाइफ लाइन’ का रूपमा परिचित छ। त्यसैले सडक सुरक्षित र सुचारु राख्न समयमै पहिरो नियन्त्रणका काम अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।