काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महिलामा देखिने स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ । सोमवार महानगरको स्वास्थ्य विभाग र वीर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायतको उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार आगामी चैत १६ गतेदेखि वीर अस्पतालबाट परीक्षण सेवा सुरु गरिनेछ । दैनिक १०० देखि १२० जना महिलाको परीक्षण गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ ।
महानगरले प्रारम्भिक चरणमै क्यान्सरको अवस्था पहिचान गरी उपचार सहज बनाउन यो सहकार्य गरिएको जनाएको छ । नेपालमा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा देखिएकाले समयमै परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।











प्रतिक्रिया