पर्वत।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित साईकलचोकमा सञ्चालित एक डेरी उद्योगमा मंगलवार दिउँसो आगलागी भएको छ । दूध तताउने क्रममा एक्कासि ग्याँस पड्किँदा झन्डै एक करोड बराबरको क्षति भएको हो । सुरुमा ग्याँस लिक भएको र तत्कालै पड्किदा ठुलो क्षति भएको हो ।
आगलागीवाट डेरी उद्योगमा रहेको चिलिङभ्याट मेशिन, ६ वटाफ्रिजहरु, प्याकेजीङ मेशिन, फर्निचर, दूध बोक्ने क्यान, दाना, चोकर, लत्ता कपडा, मोवाईलसहित ठुलो मात्रामा खाद्यान्न र पुरै घरमा समेत क्षति पुगेको छ ।
यसैगरी नगद एक लाख रुपैया जलेर नष्ट भएको छ भने डेरी सञ्चालन गरेको घरमा झन्डै २५ लाख बराबरको क्षति पुगेको डेरी संचालक रामसागर लामिछानेले जानकारी दिए । यसैगरी सोही घरमा डेरा गरी बस्ने यामनाथ सुवेदीको विभिन्न किसीमका सामाग्री गरी पाँच लाख रुपैयाको क्षति भएको छ ।
स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय पर्वतको टोली र शसस्त्र प्रहरीको टोली समेत दमकल सहित घटना स्थलमा पुगेको थियो । नयाँ ग्याँस जोडेर दूध बसाल्ने वित्तिकै लिक भएको र तत्कालै आगलागी भएको संचालक लामिछानेले जानकारी दिए ।

उक्त डेरी उद्योग स्थानीय पाटेश्वरी कृषि सहकारीद्धारा स्थापना गरी लामिछानेले सञ्चालन गर्दै आएका थिए । डेरीसँगै युवा व्यावसायी लामिछानेले किराना पसल समेत सञ्चालन गरेका थिए । दुई वटा ग्याँस पड्किएका छन् भने ११ वटा भरी सिलिन्डरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक चरणमा हेर्दा ग्याँस पड्किएरै आगजनी भएको र झन्डै एक करोडको क्षति पुगेको पार्ईएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाको विस्तृत अनुसन्धान भने जारी रहेको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
लामिछानेले विगत पाँच वर्षदेखि डेरी उद्योग सञ्चालन गरी कटुवाचौपारी, पिपलटारी, शंकरपोखरी लगायतका क्षेत्रवाट दूध संकलन गरी विभिन्न क्षेत्रमा विक्रिवितरण गर्दै आएका थिए । स्वरोजगार सञ्चालन गरेको बसेको भएपनि आगलागीले पूर्ण रुपमा क्षति पुगेपछि उनको परिवार विक्षिप्त बनेको छ ।











प्रतिक्रिया