रुपन्देहीमा रास्वपाको दबदबा: १० सांसद संसदमा, कांग्रेस–एमाले शून्य

752
Shares

बुटवल। 

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन मार्फत सबैभन्दा बढी सांसद रुपन्देही जिल्लाबाट सङ्घीय संसद् प्रवेश गरेका छन् । तर रुपन्देहीबाट कांग्रेस , एमाले ,नेकपा लगायतका पार्टीबाट भने यस पटकको संसदमा शून्य उपस्थित हुने भएको छ ।

प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट गरी रुपन्देहीबाट ११ जना सांसद प्रतिनिधिसभामा प्रतिनिधित्व हुने निश्चित भएको छ् । रुपन्देही वाट रास्वपाका १० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १ जना गरी ११ जनाको उपस्थित हुने पक्का भएको छ ।

निर्वाचन आयोगमा दलहरूले बुझाएको समानुपातिक सूचीअनुसार रुपन्देहीबाट ६ जना सांसद समानुपातिकतर्फबाट संसदमा जाने निश्चित भएका छन् । प्रत्यक्ष निर्वाचनबाट ५ जना उम्मेदवार विजयी भइसकेका छन् ।

प्रत्यक्षतर्फ रुपन्देहीका पाँचै निर्वाचन क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक तर्फ पनि थप ५ जना संगै १० जना सांसद प्रतिनिधिसभामा पुग्ने भएका छन् । प्रत्यक्ष निर्वाचनमा रास्वपाबाट क्षेत्र नम्बर १ बाट सुनिल लम्साल, क्षेत्र नम्बर २ बाट सुलभ खरेल, क्षेत्र नम्बर ३ बाट डा. लेखजंग थापा, क्षेत्र नम्बर ४ बाट कनैया बानियाँ र क्षेत्र नम्बर ५ बाट तोफिक खाँ निर्वाचित भएका हुन् । 

समानुपातिकतर्फ रास्वपाबाट रुपन्देहीका श्रद्धा कुँवर, मञ्जु भुसाल, ज्ञानु पौडेल, अमृता विक र पुनमकुमारी अग्रवालको पक्का भएको छ ।  लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्रत्यक्षमा पनि रुपन्देहीमा सबैभन्दा धेरै निर्वाचन क्षेत्र तोकिएको छ । लुम्बिनीका तराईका अन्य जिल्लामा २ देखि ३ निर्वाचन क्षेत्र छन् भने पहाडी जिल्लामा एक वा दुई निर्वाचन क्षेत्र छन् । रूपन्देहीमा ५ वटा क्षेत्र छन् । यसैगरी समानुपातिक सांसद पनि धेरै आएपछि यो जिल्ला प्रदेशका सबैभन्दा धेरै सांसद पाउने जिल्ला बनेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ताहिर अलीलाई समानुपातिक सांसदका लागि सिफारिस भएका छन् । रास्वपाबाट सिफारिस गरिएका सबै महिला छन् भने राप्रपाबाट पुरुष उम्मेदवार सिफारिस भएका छन् ।

राप्रपाबाट समानुपातिक सांसदमा सिफारिस भएका ताहिर अली रुपन्देहीको रोहिणी गाउँपालिकाका निवासी हुन् । उनलाई पार्टीले मुस्लिम कोटाबाट सिफारिस गरेको हो ।

विगतका निर्वाचनहरूमा रुपन्देहीमा कांग्रेस, एमालेको बलियो प्रभाव देखिएपनि यसपटक भने प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट एमाले कांग्रेसका कुनै पनि उम्मेदवार प्रतिनिधिसभामा पुग्न सकेनन् ।