रौतहट ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाग्मती नगरपालिकाले लगाएको जडीबुटी, जीवजन्तु तथा कवाडी संकलन एवं निकासी करमा अनियमितता देखिएको छ । उक्त कर संकलनको जिम्मा लिएको ठेकदारले राजमार्गमै बसेर अनधिकृत रूपमा रकम असुल्दै आएको तथ्य खुलेको हो । गत कत्तिक महिनामा बाग्मती नगरपालिका र …नजमुखाय निर्माण सेवा प्रा.लि. बाग्मती–१२ बीच ३ लाख ३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, ठेक्का कार्यान्वयनको नाममा ठेकदारले पूर्व–पश्चिम राजमार्गको कर्मैयास्थित क्षेत्रमा बसेर सवारीसाधनबाट करको नाममा अवैध रकम उठाउँदै आएको पाइएको छ ।
कानुनी व्यवस्था अनुसार एक स्थानीय तह वा प्रदेशबाट अर्को क्षेत्रमा ढुवानी हुने वस्तुमा कर लगाउँदा सम्बन्धित पालिकाभित्र उत्पादित वस्तुमा मात्र कर लाग्ने प्रावधान छ । तर, ठेकदारले विभिन्न पालिकाबाट ढुवानी भई आएका वस्तुमा समेत जथाभावी कर असुल्दै आएको स्थानीयले गुनासो गरेका छन् ।
यता, सर्वोच्च अदालतले गत फागुन ४ गते राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारीसाधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरिसकेको छ । तर, सो आदेशलाई बेवास्ता गर्दै बाग्मती नगरपालिकाको नाममा कर असुली जारी रहेको देखिएको हो।
बाग्मती नगरपालिकाका इन्जिनियर सुशान्त अधिकारीले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । ठेकदारले कर असुल्दा आयातित वस्तुको विवरण, नाम–ठेगाना नखुलाई …निकासी कर भन्दै रकम उठाउने गरेको पाइएको छ। यसले पारदर्शिता र कानुनी प्रक्रियामाथि प्रश्न उठाएको छ । ठेकदारले दैनिक ३० हजार भन्दा बढि रकम असुल्दै आएको जानकारहरु बताउँछन् ।












प्रतिक्रिया