एजेन्सी।
पाकिस्तान र अफगानिस्तानबीच पछिल्ला दिनमा तनाव थप चुलिएको छ । अफगानिस्तानले राजधानी काबुलस्थित एक अस्पतालमा पाकिस्तानले हवाई हमला गरेको आरोप लगाएको छ, जसमा ४०० भन्दा बढीको मृत्यु र करिब २५० जना घाइते भएको दाबी गरिएको छ ।
अफगानिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानका अनुसार काबुलको लागुऔषध दुव्र्यसन उपचार केन्द्र नजिक रहेको अस्पतालमा हमला भएको हो । सो अस्पतालमा ठूलो संख्यामा बिरामी उपचाररत रहेको बताइएको छ ।
घटनापछि अफगानिस्तानले यसलाई निर्दोष नागरिकमाथिको हमला भन्दै कडा आलोचना गरेको छ । तालिबान नेतृत्वले यसलाई “मानवताविरुद्धको अपराध” समेत भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर पाकिस्तानले भने उक्त आरोपको खण्डन गरेको छ । पाकिस्तानका अधिकारीहरूले आफ्नो हवाई कारबाही सैन्य संरचना र आतंकवादी समूहका आधार क्षेत्रमा मात्र केन्द्रित रहेको दाबी गरेका छन् ।
पाकिस्तानका अनुसार अफगानिस्तानमा सक्रिय विभिन्न आतंकवादी समूहहरूले पाकिस्तानभित्र आक्रमण गर्दै आएका कारण प्रतिकार्य स्वरूप कारबाही गरिएको हो । तर अफगानिस्तानले भने यस्तो आरोप अस्वीकार गर्दै आफ्नो भूमिबाट कुनै पनि देशविरुद्ध गतिविधि हुन नदिएको जनाएको छ ।
यो घटना दुई देशबीच पछिल्ला साताहरूमा बढ्दो द्वन्द्वकै क्रममा भएको हो । सीमाक्षेत्रमा यसअघि पनि गोली हानाहान हुँदा बालबालिकासहित नागरिकको ज्यान गएको थियो । विशेषज्ञहरूका अनुसार फेब्रुअरी अन्त्यदेखि सुरु भएको द्वन्द्व अहिले सबैभन्दा खतरनाक चरणमा पुगेको छ । दुवै देशले एकअर्कामाथि आतंकवादीलाई संरक्षण दिएको आरोप लगाउँदै आएका छन्, जसले क्षेत्रीय अस्थिरता बढाएको छ ।
संयुक्त राष्ट्रसंघले घटनाप्रति चिन्ता व्यक्त गर्दै संयमता अपनाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको स्वतन्त्र छानबिन र तनाव कम गर्न कूटनीतिक पहल आवश्यक रहेकोमा जोड दिएको छ । हालसम्म दुवै पक्षका दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।











प्रतिक्रिया