गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एकजना कृषकले व्यावसायिक रुपमै स्ट्राबेरी खेती गरेका छन् । जिल्लामा अन्य खेती धेरै कृषकले गरे पनि स्ट्राबेरी खेती गर्ने कृषक कमै छन् । तर जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–६ को सीमाघाटमा प्रेम नेपालीले व्यावसायिक रुपमा स्ट्राबेरी खेती गर्दै आएका छन् ।
केही वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यस वर्षबाट व्यावसायिक रुपमै खेती गर्दै आएका हुन् । नेपालीले स्ट्राबेरी खेतीसँगै आर.एन.पी. नवोदय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती पनि गर्दै आएका छन् ।
स्ट्राबेरी फलफूलको रुपमा प्रयोग गरिन्छ । गुल्मी जिल्लामा यसको खेती कमै कृषकले गर्दै आएका छन् । नेपालीले यस वर्ष ३ रोपनी क्षेत्रफलमा स्ट्राबेरी खेती गर्दै आएका छन् । नेपालीले उत्पादन गरेको स्ट्राबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ । फागुनको केही दिनअघिबाट पाक्न शुरु गर्ने स्ट्राबेरी वैशाख अन्तिमसम्म पाक्ने गर्दछ ।
नेपालीको फर्मबाट अहिले दैनिक १२ किलो स्ट्राबेरी उत्पादन हुँदै आएको छ । यसको बजार मूल्य हाल प्रतिकिलो ४ सयदेखि ५ सय रुपियाँ रहेको छ । बजार राम्रो हुँदै गए यो खेतीलाई अझ विस्तार गर्ने उनको सोच छ । नेपालीले २०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आएका थिए ।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १२० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् । परिवारका ४ जना सदस्य मिलेर तरकारी खेती शुरु गरेका नेपालीले अहिले कक्षा १२ पास गरेका छोरालाई पनि कृषि पेसालाई अगाडि बढाएका छन् ।
शून्य लगानीबाट शुरु गरेका नेपालीको फममा अहिले ३० लाखभन्दा बढी लगानी भएको छ । उनको फममा हाल २६ वटाभन्दा बढी टनेल रहेका छन् ।
नेपालीको फममा हाल स्ट्राबेरी, लौका, फर्सी, टमाटर, फूलकोपी, बन्दागोपी, तिते करेला, लौका, काँक्रा, साग, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौँला, माछा, फूललगायत मौसमी तथा बेमौसमी खेती उत्पादन हुँदै आएको छ ।











प्रतिक्रिया