हेटौंडा ।
सुर्खेतकी १६ वर्षीया इनिसा बिकमाथि भएको सामूहिक बलात्कारपछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले सोमवार जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र पठाउँदै घटनाको घोर निन्दा र भत्र्सना गरेको हो ।
समितिले निर्दोष नाबालिकामाथि भएको सामूहिक बलात्कार र हत्या नेपाली समाजमा विद्यमान अन्याय, विभेद र दण्डहीनताको ज्वलन्त उदाहरण भएको उल्लेख गरेको छ । यस्तो जघन्य अपराधले मानवता, कानुनी शासन तथा सभ्य समाजका मूल्यमान्यतामाथि गम्भीर प्रहार गरेको समितिको भनाइ छ ।
समिति संयोजक कमलकुमार विश्वकर्माले हस्ताक्षर गरेको ज्ञापनपत्रमा घटनामा संलग्न आरोपितहरू पक्राउ परेको र अपराध स्वीकार गरिसकेको जानकारी आए पनि विभिन्न शक्तिकेन्द्रको आडमा मुद्दा कमजोर बनाउने तथा पीडित परिवारलाई हतोत्साहित गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । समितिले घटनाको स्वतन्त्र, निष्पक्ष र शीघ्र छानबिन गरी दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही माग गरेको छ । पीडित परिवारलाई सुरक्षा, मनोसामाजिक परामर्श र न्यायिक सहयोग उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा अनुसन्धान तथा न्याय प्रक्रियामा राजनीतिक दबाब वा हस्तक्षेप हुन नदिन र लंैगिक हिंसा तथा जातीय विभेदका घटनामा बढ्दो दण्डहीनता अन्त्य गर्न राज्यका निकायहरूलाई थप जिम्मेवार बनाउनुपर्ने उल्लेख गरिएको छ ।
स्थानीय तह, प्रहरी प्रशासन तथा सम्बन्धित निकायहरूले पीडितमैत्री न्याय प्रणाली सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्नुपर्ने माग पनि गरिएको छ । हत्या गरिएकी बालिकाको चरित्रहत्या हुने गरी समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई ध्यान दिन आग्रह गरिएको छ । समितिले यदि घटनामा ढिलासुस्ती, अनुचित प्रभाव वा अन्याय भएको देखिए थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएको छ ।











प्रतिक्रिया