मुलुककै उत्कृष्ट र रोलमोडल काठमाडौं प्रशासनको सेवाबारे प्रधानमन्त्रीको अवलोकन

नागरिकलाई झ्यालमा घण्टांै उभिएर सेवा लिनुपर्ने युगको अन्त्य गरेका छौं : सीडीओ पौडेल


– काठमाडौँ प्रशासनमा जेन–जी आन्दोलनको मर्मअनुसारकै सेवा प्रवाह
–देशभरका सरकारी कार्यालयले अनुकरण गर्नुपर्नेमा जोड

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले सोमवार मुलुककै उत्कृष्ट र रोलमोडल प्रशासन कार्यालयका रूपमा रहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंको निरीक्षण गरी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परी खरानी बनेको जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई अहिले देशकै उत्कृष्ट र नमुना कार्यालयका रूपमा स्थापित गराउन सफल हुनुभएको छ । काठमाडौं प्रशासनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) पौडेलकै योजना र भिजनअनुसार अत्याधुनिक डिजिटल पद्धतिमार्फत सेवाग्राही सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम, पास) लागू गरेपछि सेवा प्रवाह अत्यधिक प्रभावकारी हुनुका साथै सेवाग्राहीहरूसमेत सन्तुष्ट हुँदै आएका छन् ।

काठमाडौं प्रशासनले सेवाग्राहीलाई सन्तुष्ट बनाउने उद्देश्यले सेवाग्राही सम्बोधन प्रणाली (पास) लागू गरेर चर्चा बटुलेसँगै प्रधानमन्त्री कार्की कार्यालयको सेवा प्रवाहको अवस्था र कार्यालयले लागू गरेको सेवाग्राही सम्बोधन प्रणालीको अवलोकन गर्न सोमवार जिल्ला प्रशासन कार्यालय, काठमाडौं पुग्नुभएको हो ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृह मन्त्रालयका अन्य अधिकारीहरूलगायतका सरकारी अधिकारीहरू पनि जिल्ला प्रशासन कार्यालय पुगेर त्यहाँ प्रदान हुँदै आएको नमुना सेवाप्रवाहको बारेमा जानकारी लिएका थिए ।

त्यसक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललगायतका उच्च अधिकारीहरूलाई कार्यालयले लागू गर्दै आइरहेको डिजिटल प्रविधिसहितको सेवाग्राही सम्बोधन प्रणालीका बारेमा जानकारी गराउनुभयो ।

पौडेलले जेन–जी आन्दोलनको मर्मअनुसार सेवा प्रवाह प्रभावकारी बनाउने तथा युवाहरूले चाहेको सुशासनलाई स्थापित गर्ने उद्देश्यले सो प्रणाली लागू गरिएको जानकारी दिनुभयो । पौडेलले सेवाग्राहीको बढी चाप लाग्ने देशभरका अन्य सरकारी कार्यालयमा पनि यस्तै प्रणालीको सुरुवात गर्न मन्त्रिपरिषद्बाटै आवश्यक निर्णय गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनले आत्मसात् गरेको सुशासन स्थापना गर्ने र सेवा प्रवाह प्रभावकारी बनाउने कार्यमा काठमाडौं प्रशासन कार्यालय र सीडीओ पौडेलले थाल्नुभएको नवीन कार्यको प्रशंसा गर्दै देशभरका सरकारी कार्यालयमा यस्तै प्रणाली लागू गर्न सरकार निकै सकारात्मक रहेको बताउनुभयो ।
के हो पब्लिक अनाउन्समेन्ट (सेवाग्राही सम्बोधन प्रणाली, पास) प्रणाली ?

काठमाडौं प्रशासनले सेवा प्रवाह प्रभावकारी बनाई सुशासन कायम गर्ने उद्देश्यले टोकनसहितको स्मार्ट डिजिटल सेवा सञ्चालन गर्दै आइरहेको छ जसलाई पब्लिक अनाउन्समेन्ट सिस्टम (पीएएस) नाम दिइएको छ । भदौ २३ र २४ को आन्दोलनमा आन्दोलनकारीको मुख्य तारोमा परी खरानी बनेपछि यो कार्यालयले झन्डै डेढ सातासम्म कुनै पनि सेवा प्रवाह दिन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारीका रूपमा ईश्वरराज पौडेल आएसँगै उहाँले अहोरात्र खटेर कार्यालयको सेवा चालू गर्दै ३ महिनाभित्रै मुलुकका ७७ वटा जिल्ला प्रशासन कार्यालयमध्ये सबैभन्दा उत्कृष्ट र रोलमोडल प्रशासन कार्यालयका रूपमा स्थापित गराउन सफल हुनुभएको हो ।

देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये काठमाडौं प्रशासन टोकनसहितको स्मार्ट डिजिटल सेवा प्रवाह गर्ने पहिलो प्रशासन कार्यालय बनेको छ । पौडेल प्रमुख जिल्ला अधिकारी भएर आएपछि उहाँकै योजना र भिजनअनुसार टोकनसहितको स्मार्ट सेवा प्रणाली तथा ‘पब्लिक अनाउन्समेन्ट सिस्टम’ लागू हुँदै आएको हो । सो प्रणालीको शुभारम्भ यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीले निरीक्षण गरेलगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले जनतालाई केन्द्रविन्दुमा राखेर काठमाडौं प्रशासनले नागरिकलाई झ्यालमा घण्टांै उभिएर सेवा लिनुपर्ने युगको अन्त्य गरेको बताउनुभयो । उहाँले देशका सबै सरकारी कार्यालयले यसै प्रकारको प्रविधिमा आधारित सेवा दिन सकेमा जेन–जीको आन्दोलनले माग गरेअनुसार सुशासन कायम हुन सक्ने र सेवा प्रवाह प्रभावकारी हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

पब्लिक अनाउन्समेन्ट सिस्टमअन्तर्गत काठमाडौं प्रशासन कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले सबैभन्दा पहिला पहिलो चरणमा आफूले लिन चाहेको कुन सेवा हो त्यससम्बन्धी टोकन लिन्छ । टोकन लिएलगत्तै त्यो सेवा सञ्चालन गर्ने शाखामा त्यसको जानकारी पुग्छ अर्थात् उसको सो काम कार्यालयको सिस्टममा प्रवेश गर्छ ।

त्यसको केही समयमा नै सो शाखाका कर्मचारीहरूले सो काम सम्पन्न हुन के कति समय लाग्छ त्यसको जानकारी सेवाग्राहीलाई दिन्छन् र केही समय धैर्य गरेर बस्न आग्रह गर्छन् । त्यस समयमा सेवाग्राहीलाई बस्नका लागि कार्यालयले राम्रो प्रबन्ध गरेको छ ।

जहाँ वाइफाइ र टेलिभिजनको समेत सुविधा रहेको छ ।तेस्रो चरणमा सो सिस्टममा ती सेवाग्राहीलाई त्यसअघि दिइएको समय सकिएपछि काम सम्पन्न भएको जानकारी दिइन्छ र आवश्यक सनाखत गर्न बोलाइन्छ । यी सबै काम सम्पन्न गराउन कार्यालयकै केही कर्मचारीलाई स्कर्टिङमा समेत खटाइने गरिएको छ ।