काठमाडौं ।
काठमाडौं महानगरपालिकाले फोहोरबाट मोहोर कमाउन सुरु गरेको छ । कामपाले महानगरभित्र वर्गीकरण गरिएका ७ क्षेत्रका फोहोरबाट वार्षिक ६ करोड आम्दानी गर्ने भएको छ । कामपाले कार्यान्वयनमा ल्याएको सुक्खा फोहोर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नं ७ बाट दैनिक करिब ३ दशमलव १९ मेट्रिक टन फोहोर ल्यान्डफिल साइट जानबाट रोकिने गरेको छ । ती सबै सुख्खा फोहोर हुन् ।
सहरभित्रको फोहोर स्रोतमा वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापन तथा मात्रा घटाउने प्रयासका विषयमा छलफल गर्ने क्रममा मटेरियल रिकभरी फ्यासिलिटीका विषयमा जानकारी गराएको हो । यसमा संकलित फोहोरबाट सुक्खा फोहोर वर्गीकरण गरी बिक्री गरिन्छ । बैठकमा छलफल गरिएको क्षेत्र नं ७ मा १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० वटा वडा छन् ।
क्षेत्र नं ७ का लागि छनोट भएको ग्लोरियस मल्टिपर्पोज एन्ड सप्लाइजसँग २०८१ फागुन २६ गते सम्झौता गरेको थियो । यस क्षेत्रबाट महानगरपालिकाले वार्षिक करिब ७० लाख रुपियाँ आम्दानी गरिसकेको छ । कामपा कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा हिजो सोमवार भएको बैठकले सुख्खा फोहोर ठेक्कामा दिएको विषय जानकारी गराइएको थियो ।
बैठकमा उहाँले फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उत्पादित फोहोरको वर्गीकरणमा उत्पादक र व्यवस्थापन गर्न साझेदारले समान दायित्व लिनुपर्ने उहाँको धारणा थियो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सहरी सरसफाइ सेवालाई प्रभावकारी बनाउँदै आय हुनसक्ने ठाउँमा आय गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
प्रवक्ता नवीन मानन्धरले फोहोरलाई स्रोतमा वर्गीकरण गरेर अनुकरणीय काम गर्नेलाई पुरस्कृत गरेर प्रोत्साहन बढाउनुपर्ने बताउनुभयो । अहिलेको अभ्यासलाई सिकाइ मानेर सेवा विस्तार गर्दै जानुपर्ने वातावरण समितिका संयोजक बालकृष्ण महर्जनले बताउनुभयो ।
बैठकमा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले रिकभरी फ्यासिलिटीको अभ्यासका विषयमा जानकारी गराउनुभएको थियो । घरेलु फोहोरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ ।
ती हरेक क्षेत्रमा एक–एक वटा फोहोरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापन गर्न मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नं १ का लागि नेप्सेम्याक सेवा प्रालि छनोटमा परेको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ छन् । यो क्षेत्रबाट वार्षिक रूपमा ६६ लाख ४२ हजार १ सय रुपियाँ राजस्व उठ्नेछ । यस क्षेत्रमा दैनिक करिब ४८ मेट्रिक टन फोहोर संकलन हुने अनुमान छ ।
क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालिले वार्षिक ५१ लाख ५९ हजार ४३ लाख रुपियाँमा ठेक्का लिएको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ३६ मेट्रिन टन सुक्खा फोहोर संकलन हुने अनुमान छ । क्षेत्र नम्बर ३ मा क्रिएटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८ सय ९१ रुपियाँ कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् । यस क्षेत्रबाट दैनिक करिब ३८ मेट्रिक टन फोहोर जम्मा हुने अनुमान छ ।
क्षेत्र नम्बर ४ मा मेची पोली इन्डस्ट्रीले १ करोड १५ लाख ४ हजार ४ सय ९४ रुपियाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ छन् । यस क्षेत्रबाट दैनिक करिब साढे ५५ मेट्रिकटन फोहोर जम्मा हुने अनुमान छ । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ तोकिएको छ । करिब ४९ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले वार्षिक ९६ लाख ४६ हजार १७ रुपियाँ कबोल गरेको छ ।
वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । करिब ५४ मेट्रिक टन सुक्खा फोहोर संकलन हुने अनुमान गरिएको यस क्षेत्रका लागि पोली वेस्ट म्यानेजमेन्टले ९१ लाख ८१ हजार ९ सय १७ रुपियाँमा आय ठेक्का कबोल गरेको छ ।
फोहोरमैलालाई स्रोतमा वर्गीकरणबाट मात्रा न्यूनीकरण गर्न, पुनः प्रयोग, पुनः चक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न फोहोरमैला संकलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । यसमा सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहोरमैला संकलन, ढुवानी गर्न कार्यविधि जारी गरिएको हो ।











प्रतिक्रिया