संसद्मा सुन्दरीहरूको रोमाञ्चक प्रवेश

ग्ल्यामरको संसारबाट लोकतन्त्रको मञ्चमा

1.22k
Shares

काठमाडौं ।

नेपालको संघीय संसद्मा यसपटक एउटा फरक दृश्य देखिने भएको छ । सौन्दर्य प्रतियोगिता, सौन्दर्य र फिल्म क्षेत्रबाट स्थापित केही चर्चित महिला अनुहार अब सांसदका रूपमा नीति निर्माणको केन्द्रमा देखिने भएका छन् । कला, सौन्दर्य र मनोरञ्जन क्षेत्रबाट स्थापित व्यक्तित्वहरूको संसद् प्रवेशले राजनीतिक प्रतिनिधित्वमा नयाँ आयाम र रोमाञ्चकता थपिएको छ ।

यसपटकको प्रतिनिधित्वमा विशेषतः महिलाहरूको उपस्थिति उल्लेखनीय छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र अभिनेत्री, मोडल तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मालाई समानुपातिक सांसदका रूपमा छनोट गरेको छ । सौन्दर्य क्षेत्रबाट नीति निर्माणको थलोमा पुग्नुभएकी अनुष्का आदिवासी जनजाति महिला क्लस्टरबाट प्रतिनिधित्व गर्ने हुनुभएको छ भने रीमा दलित महिला क्लस्टरबाट सांसद बन्ने निश्चित भएको छ ।

सन् २०१९ मा लन्डनमा सम्पन्न मिस वल्र्ड प्रतियोगितामा टप १२ सम्म पुग्नुभएकी अनुष्काले ब्युटी विथ अ पर्पोज र मल्टिमिडिया अवार्डसमेत जित्नुभएको थियो । काठमाडौंमा जन्मिनुभएकी उहाँ पछिल्लो समय सफल महिला उद्यमीका रूपमा पनि परिचित हुनुहुन्छ ।

उहाँले स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यसहित माकुसी नामक डेजर्ट चकलेट ब्रान्ड सञ्चालन गर्दै आउनुभएको छ । इन द क्ल्याप म्यागेजिनले सन् २०२२ मा सार्वजनिक गरेको सूचीमा उहाँ दक्षिण एसियाका उत्कृष्ट १० महिला उद्यमीमध्ये एक घोषित हुनुभएको थियो । काठमाडौं महानगरपालिकाको सल्लाहकारका रूपमा स्वयंसेवी भूमिका निर्वाह गरिसक्नुभएकी अनुष्काले नेपालमै उद्यमशीलता र रोजगारी सिर्जनाको प्रेरणा दिने व्यक्तित्वका रूपमा समेत पहिचान बनाउनुभएको छ ।

त्यस्तै, सञ्चारकर्मबाट यात्रा सुरु गर्नुभएकी रीमा विश्वकर्मा पछिल्लो समय रियालिटी सोहरूको होस्टका रूपमा व्यस्त हुनुहुन्थ्यो । केही समयअघि मात्र उहाँले गायन रियालिटी सो नेपाल आइडल र कमेडी रियालीटी सो कमेडी क्लब विथ च्याम्पियन्स सञ्चालन गर्नुभएको थियो । फिल्म स्वरबाट अभिनय यात्रा सुरु गर्नुभएकी उहाँले भिसा गर्ल, १० घण्टा, स्केप, बाटोमुनिको फूल २, हिजोआजका कुराजस्ता चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।

बर्दिया गुलरियाकी रीमाले किशोर अवस्थामै टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै सञ्चार क्षेत्रमा प्रवेश गर्नुभएको थियो । सामाजिक र राजनीतिक विषयमा स्पष्ट धारणा राख्ने स्वभावका कारण उहाँ सामाजिक सञ्जालमा पनि प्रभावशाली आवाजका रूपमा चिनिनुहुन्छ । उहाँले राजनीतिमा प्रवेशपछि सामाजिक न्याय र समावेशिताका मुद्दामा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

दुई तिहाइको नजिक पुगेको रास्वपाले संवैधानिक व्यवस्थाअनुसार समानुपातिकतर्फ ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम सिफारिस गर्नुपरेपछि यो सूचीमा परेका बढीभन्दा बढी महिलाहरूले संघीय संसद्मा प्रवेश गर्ने अवसर पाउने भएपछि सूचीमा रहेका पुरुषहरू भने बाहिरिनुपर्ने अवस्था आएको छ ।

यस क्रममा कला क्षेत्रबाट अनुष्का र रीमा सांसद बन्ने निश्चित हुँदा यही क्षेत्रबाट सूचीमा रहेका गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेता तथा चिकित्सक रूपक विश्वकर्मा घिमिरेले भने संसद् प्रवेशको अवसर गुमाएका छन् ।

यसैबीच कला क्षेत्रबाटै सामाजिक अभियन्ताका रूपमा चिनिनुभएकी धादिङकी आशिका तामाङ धादिङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद बन्नुभएको छ । २९ हजार १ सय २८ मत प्राप्त गर्दै उहाँले प्रतिनिधिसभाको यात्रा तय गर्नुभएको हो । ग्रीन एन्ड क्लिन आशिका फाउन्डेसनमार्फत सरसफाइ तथा सामाजिक अभियान चलाउँदै आउनुभएकी उहाँ सडकमा चर्को आवाजमा सामाजिक विषय उठाउने अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मोडल तथा सन् २००६ की मिस टिन खुस्बु ओलीलाई समानुपातिक सांसदका रूपमा छनोट गरेको छ । झापा सुरुङ्गाकी ओली मोडलिङसँगै समाजसेवामा पनि सक्रिय रहँदै आउनुभएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएकी उहाँले काठमाडौंको विशालनगरमा सेल्टर आश्रय स्थापना गरी सडक बालबालिकालाई आश्रय उपलब्ध गराउँदै आउनुभएको छ ।

उहाँले उल्लेखनीय सामाजिक कार्यका लागि सन् २०१८ मा एएफसी ड्रिम एसिया अवार्डअन्तर्गत १० हजार अमेरिकी डलरसहित प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको थियो ।

यसै गरी नेकपा एमालेले गायिका कोमल वलीलाई समानुपातिक सूचीमा राखे पनि अन्ततः उहाँ सांसद छनोट हुन भने सक्नुभएन । कला, सौन्दर्य र मनोरञ्जन क्षेत्रका चर्चित अनुहारहरूको संसद् प्रवेशले राजनीतिक प्रतिनिधित्वमा नयाँ आयाम थपिएको विश्लेषण गरिएको छ । मनोरञ्जन क्षेत्रबाट आएका यी व्यक्तित्वले सामाजिक मुद्दा, समावेशिता र सांस्कृतिक क्षेत्रका सवाललाई संसद्मा कसरी उठाउँछन् भन्ने विषय अब चासोको केन्द्र बन्ने छ ।