उदयपुर जिल्ला अस्पतालमा रेबिज खोपको अभाव

470
Shares

उदयपुर ।

 उदयपुर जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन) को अभाव भएको छ । सरकारी कोटा अनुसार आउने खोपको आपूर्ति हुन नसक्दा रेबिज विरुद्धको खोप अभाव भएको हो । यसले गर्दा स्थानीयले महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन बाध्य हुनुपरेको छ ।

 जिल्ला अस्पतालमा विगत १५ दिनदेखि खोपको मौज्दात सकिएको हो । खोप नआएपछि जिल्ला अस्पतालले एक सूचना जारी गरेर खोप नभएको जनाएको छ । अस्पतालले अर्को व्यवस्था नभएसम्मको लागि खोप सेवा स्थगित भएको जनाएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा आउने खोप त्यहाँबाट जिल्ला अस्पताले पाउने व्यवस्था छ । खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिए पनि हालसम्म खोप प्राप्त नभएको अस्पतालका प्रशासन प्रमुख भगवती खतिवडाले जानकारी दिनुभयो ।

सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा नपाउँदा न्यून आय भएका नागरिकहरू थप आर्थिक मर्कामा परेका छन् । अस्पतालमा रेबिज विरुद्धको खोप बाहेक अन्य सशुल्क र निःशुल्क वितरण हुने औषधि समेत स्टोक सकिएको छ । अस्पतालले समयमै खरिद गर्न नसक्दा औषधि अभाव भएको जनाएको छ । 

अस्पतालले औषधि खरिद गर्ने तर भुक्तानी नदिएको कारण सप्लायर्सहरुले औषधि दिन छाडेका छन् । अहिले बिमाबाट वितरण हुने नियमित औषधी समेत नरहेको अस्पताल फार्मेसीले जनाएको छ ।