–स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
–जेन–जी सरकारकै अवमूल्यन, चौतर्फी आलोचना
–गृहमन्त्री लोभी मन्त्रीमा परिणत
–सुशासनको नारा खोक्रो सावित
–विज्ञतालाई भन्दा भक्तिभावलाई प्राथमिकता
–जेन–जी सुशासनको नारामाथि कुठाराघात
–आदर्शको विभिन्न चलखेलमा पनि सघाउ
काठमाडौं।
भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नै आमा सम्बोधन गर्ने प्रधानमन्त्री सुशीला कार्कीले जाँदाजाँदै छोराको आदर्शमाथि नै कुठाराघात गर्नुभएको छ । मुलुकमा व्याप्त विकृति अन्त्य गर्दै सुशासन कायम गर्ने महत्वपूर्ण नाराले उदाएको रास्वपाले २१ फागुनको निर्वाचनमा झण्डै दुई तिहाइ नजिकको परिणाम ल्यायो ।
सोहीअनुसार अब रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मुलुकको आशालाग्दो प्रधानमन्त्रीका रूपमा शासन सत्ता सञ्चालन गर्दै हुनुहुन्छ तर बालेनले आमा भन्दै सम्बोधन र सम्मान गर्ने हालकी प्रधानमन्त्री सुशीला कार्कीले भने जाँदाजाँदै आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई परम्पराविपरीत राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरेपछि राजनीतिक र प्रशासनिक वृत्तमा उहाँमाथि गम्भीर प्रश्न उठेको हो ।
यसै गरी प्रधानमन्त्री कार्कीले नयाँ सरकारको क्षेत्राधिकारलाई नै अतिक्रमण गर्ने गरी राष्ट्रियसभाको सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दै अर्को विवादास्पद काम गर्नुभएको छ । सामान्यतया यस्ता निर्णयहरू चुनाव सकिएलगत्तै आउने नयाँ सरकारले गर्नुपर्ने मान्यता छ । सो मान्यतालाई समेत प्रधानमन्त्री कार्कीले लत्याउनुभएको छ । यससँगै गृहमन्त्री अर्याल पनि लोभी र स्वार्थी मन्त्रीका रूपमा रूपान्तरण हुनुभएको छ । उहाँले आफूहरूले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र अब आफू राजनीतिभन्दा पनि पुरानै वकिल व्यवसायमा फर्कने बताउँदै आउनुभएको थियो । तर, उहाँ एकाएक आइतबार सांसदमा सिफारिस हुनुभएको हो । मन्त्रिपरिषद्ले आफंैलाई सांसदमा नियुक्तिका लागि गरेको सिफारिससम्बन्धी निर्णय उहाँ आफैंले पढ्नुभएको थियो ।
निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै प्रशंसा कमाउँदै आउनुभएकी प्रधानमन्त्री कार्की जाँदाजाँदै यस प्रकारका विवादास्पद निर्णयका कारण नराम्ररी चुक्नुभएको हो । कार्की नेतृत्वको सकारको आइतबार अन्तिम मन्त्रिपरिषद् बैठक बसेको थियो । सोही अन्तिम बैठकमा नै कार्कीले आलोचित हुने गरी स्वार्थपरक निर्णय गर्नुभएको हो ।
सर्वोच्च अदालतमा सुब्बा स्तरका कम्प्युटर अपरेटर रहेका श्रेष्ठलाई प्रधानमन्त्रीले कोषको अध्यक्ष बनाउने निर्णय गरेपछि यसलाई सुशासन र योग्यतामाथिको प्रश्नका रूपमा हेरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पद सामान्यतः वन तथा वातावरण मन्त्रीले सम्हाल्ने परम्परा रहँदै आएको छ । तर, प्रधानमन्त्री कार्कीले उक्त परम्परालाई तोड्दै आफ्नै स्वकीय सचिवलाई नियुक्त गरेपछि निर्णय विवादमा परेको हो ।
आइतबार सामाजिक सञ्जालमा समेत उक्त नियुक्तिलाई लिएर व्यापक आलोचना भएको छ । धेरैले प्रधानमन्त्रीले सार्वजनिक रूपमा सुशासनको प्रतिबद्धता जनाए पनि व्यवहारमा भने आफन्त र नजिकका व्यक्तिलाई अवसर दिने प्रवृत्ति देखाएको टिप्पणी गरेका छन् ।
प्रशासनिक स्रोतका अनुसार श्रेष्ठ यसअघि पनि केही महत्वपूर्ण निर्णय प्रक्रियामा प्रभावशाली भूमिका खेल्ने गरेको चर्चा रहने गरेको थियो । श्रेष्ठले केही निर्णय र नियुक्तिमा चलखेल गर्दासमेत प्रधानमन्त्री कार्कीले संरक्षण गर्ने गरेको आरोप लाग्दै आएको थियो ।
प्रकृति संरक्षण कोषजस्तो संस्थामा वातावरण, वन र जैविक विविधताबारे गहिरो ज्ञान तथा अनुभव भएका व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा त्यससम्बन्धी अनुभव नभएका व्यक्तिलाई अध्यक्ष बनाइएको भन्दै वन तथा वातावरण क्षेत्रका जानकारहरूले पनि असन्तुष्टि जनाएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर सकारात्मक छवि बनाएको सरकारको अन्तिम चरणमा गरिएको यस्तो निर्णयले प्रधानमन्त्री कार्कीको सुशासनसम्बन्धी प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ भने जेन–जी सरकारको छविमाथि नै गम्भीर अवमूल्यन भएको छ ।

होस गर्नुस् है प्रधानमन्त्रीज्यू, त्यो कुर्सीमा रातो लागेको छ
रक्षा बम
जेन–जी अभियन्ता
जेन–जी आन्दोलनमा शाहदात गर्ने युवाहरूसँगै सडकमा निस्किएकी जेन–जी अभियन्ता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीले नातावाद, कृपावादलाई प्रश्रय दिएकोमा आक्रोश व्यक्त गर्दै त्यस्तो कार्य नगर्न चेतावनी दिनुभएको छ ।
प्रधानमन्त्री कार्कीले दक्षता, क्षमता र प्रतिस्पर्धालाई लत्याएर आफू निकटकालाई विभिन्न नियुक्ति दिएपछि रक्षाले आइतबार आफ्नो सामाजिक सञ्जालमा जेन–जी आन्दोलनको सम्भावित मृतकको तर्फबाट भन्दै आक्रोश पोख्नुभएको हो ।
उहाँले लेख्नुभएको छ – ‘सडकमा सुशासनका लागि, नातावाद र कृपावादको विरुद्ध नारा लगाउँदै मेरा जेन–जी साथीहरूले छाती र टाउकोमा गोली खाए । मसँगै हजारौँ साथीहरूले आफ्नो ज्यानको पर्वाह नगरी छातीमा गोली थाप्न सडकमा उत्रिए ।’ प्रधानमन्त्री कार्कीलाई सचेत पार्दै र प्रश्न गर्दै रक्षाले भन्नुभएको छ, ‘केका लागि थाहा छ ? यो देशले, बिस्तारै भए पनि, सुशासनको सास फेर्न पाओस् भन्ने सपनाका लागि । प्रधानमन्त्री र मन्त्रीज्यूहरूले आफ्ना मान्छेलाई बिदाइ उपहारस्वरूप परिषद्, विभाग वा समितिका कुर्सीहरू बाँडफाँट गर्नका लागि होइन ।’ रक्षाले थप आक्रोश पोख्दै भन्नुभएको छ, ‘होस गर्नुहोस् है, त्यो कुर्सीमा रातो लागेको छ । सडकले रगत भुलेको छैन र रगतले रंगिएको कुर्सीले तपाईंलाई कुनै उचाइ दिने छैन ।’











प्रतिक्रिया