१६ वर्षीय डोम्यानको कीर्तिमानी गोल


लन्डन, (एजेन्सी)

आर्सेनलका म्याक्स डोम्यानले इङ्गलिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रूपमा नयाँ कीर्तिमान कायम गरेका छन् । घरेलु मैदान इमिरेट्स स्टेडियममा एभर्टनविरुद्ध २–० को रोमाञ्चक जित निकाल्ने क्रममा १६ वर्षीय डोम्यानले इतिहास रचेका हुन् । यस जितसँगै आर्सेनलले २२ वर्षपछिको प्रिमियर लिग उपाधि जित्ने आफ्नो लक्ष्यलाई थप मजबुत बनाएको छ ।

खेलको ७४औं मिनेटमा मार्टिन जुविमेन्डीको स्थानमा मैदान प्रवेश गरेका डोम्यानले खेलको अन्तिम समयमा व्यक्तिगत प्रयासमा उत्कृष्ट गोल गरे । एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्ड कर्नर प्रहारका लागि आर्सेनलको पेनाल्टी क्षेत्रमा आएको मौका छोपी आर्सनलले प्रतिआक्रमण (काउन्टर अट्याक) बुनेको थियो। मैदानको मध्यभागबाट बल नियन्त्रणमा लिँदै डोम्यानले एभर्टनका दुई रक्षापंक्तिलाई छक्याएर खाली पोस्टमा गोल गरेका थिए । उनले मात्र १६ वर्ष ७३ दिनको उमेरमा गोल गर्दै जेम्स भोनको (१६ वर्ष २७० दिन) लामो समयदेखिको कीर्तिमान तोडेका हुन् । प्रशिक्षक मिकेल अर्टेटाले डोम्यानको प्रदर्शनलाई “इमिरेट्सकै उत्कृष्ट क्षणहरूमध्ये एक” भन्दै उनको निडरता र संयमताको प्रशंसा गरेका छन् ।

इंग्लिस प्रिमियर लिगका कान्छा गोलकर्ताहरू :

म्याक्स डोम्यानले इतिहास रच्ने क्रममा विश्व फुटबलका दिग्गज नामहरूलाई पछि पारेका छन् । प्रिमियर लिगमा सबैभन्दा कम उमेरमा गोल गर्ने शीर्ष खेलाडीहरूको सूची यस प्रकार छ :

खेलाडीको गोल गर्दाको उमेर

म्याक्स डोम्यान (आर्सेनल), १६ वर्ष ७३ दिन

जेम्स भोन (एभर्टन), १६ वर्ष २७० दिन

जेम्स मिलनर (लिड्स युनाइटेड), १६ वर्ष ३५६ दिन

वाइन रुनी (एभर्टन), १६ वर्ष ३६० दिन

रियो न्गुमोहा (चेल्सी-लिभरपुल), १६ वर्ष ३६१ दिन