काठमाडौं।
नेपाल चिकित्सक संघको निर्वाचन समितिले रोकिएको निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। यसका लागि समितिले आगामी बुधवार उम्मेदवार तथा तिनका प्रतिनिधिसँग छलफल गर्ने निर्णय गरेको छ।
शनिवार बसेको निर्वाचन समितिको बैठकले रोकिएको निर्वाचन कार्यक्रमलाई अघि बढाउने उद्देश्यले उम्मेदवारहरूसँग परामर्श गर्ने निर्णय गरेको हो।
समितिका प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले सूचना जारी गर्दै आगामी बुधवार बिहान ११ बजे संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित हुन उम्मेदवार वा उनका प्रतिनिधिलाई आग्रह गरेका छन्।
नेपाल चिकित्सक संघको निर्वाचन यसअघि नै विवादका कारण प्रभावित हुँदै आएको छ। समितिले विधान विपरीत कार्य गर्दै डा. अरुण शाहीसहित केही चिकित्सकहरूको उम्मेदवारी खारेज गर्ने निर्णय गरेपछि विवाद चर्किएको थियो। त्यसपछि प्रभावित उम्मेदवारहरू जिल्ला प्रशासन कार्यालय हुँदै उच्च अदालत पुगेका थिए।
पाटन उच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सबै उम्मेदवारको उम्मेदवारी कायम भएको छ। साथै अदालतले चिकित्सक संघ र निर्वाचन समितिलाई यथास्थितिमा निर्वाचन नगर्न अर्को आदेशसमेत दिएको थियो।
निर्वाचन समितिका पूर्व निर्णय र अदालतको प्रक्रियाले गर्दा अन्योलमा परेको निर्वाचन प्रक्रिया अघि बढ्न नपाउँदै प्रतिनिधि सभा सदस्य पदको निर्वाचन आचारसंहिता लागू भएको थियो। अहिले उक्त आचारसंहिता सकिएकाले चिकित्सक संघको निर्वाचन पुनः अघि बढाउने प्रयास भइरहेको बताइएको छ।
यसबीच केही चिकित्सकहरूले वर्तमान निर्वाचन समितिले विधान विपरीत निर्णय गर्दै निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न नसकेको भन्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग उठाएका छन्। तर निर्वाचन समिति भने यस विषयमा मौन रहँदै रोकिएको निर्वाचन सम्पन्न गराउने प्रयासमा लागेको छ।











प्रतिक्रिया