सिटिजन्स बैंकको इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न


काठमाडौँ
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औँ वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ ।

फागुन २९ गते शुक्रबारदेखि फागुन ३० गते शनिबारसम्म काठमाडौँमा दुई दिन सञ्चालन भएको उक्त प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत ८ टिमका ८४ जना विभाग तथा शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्ता गतिविधिले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउनुका साथै सुशासन र प्रणालीगत अनुशासनप्रति बैंकको प्रतिबद्धता झल्काउने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले कर्मचारीहरूबीच अनुशासन, आपसी सहकार्य र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार वितरण पनि प्रमुख कार्यकारी अधिकृतबाट गरिएको थियो ।

विश्वकै प्रतिष्ठित अवार्ड “बैंक अफ द इयर–२०२४ र २०२५” प्राप्त गर्न सफल बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” नामक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । साथै बैंकले नवयुवालाई लक्षित गरी “सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट”, “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरहरूका लागि विशेष “फ्रिलान्सर सेभिङ्स अकाउन्ट” सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा प्राप्त गर्न सकिने सुविधा, क्रस बैंक टेलर सुविधा लगायतका नवीन सेवाहरू पनि बैंकले सञ्चालनमा ल्याएको छ, जसबाट अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब १९ लाख ९७ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।