अनिलद्वारा दोस्रो राउन्डमै अष्ट्रेलियाली बक्सर नकआउट


काठमाडौं ।

५३औँ थन्डरडोम प्रो बक्सिङ प्रतियोगितामा नेपाली बक्सर अनिल कुमार पुनले अष्ट्रेलियाका बक्सर राइट हर्नलाई नकआउट गर्दै पराजित गरेका छन् ।

अष्ट्रेलियामा आयोजित प्रतिष्ठित ‘५३औँ थन्डरडोम प्रो बक्सिङ’ प्रतियोगितामा नेपाली बक्सर अनिल कुमार पुनले घरेलू खेलाडीमाथि सानदार जित दर्ता गर्दै विदेशी भूमिमा नेपालको झण्डा फहराएका छन् । ६१ केजी तौल समूहको अत्यन्तै रोमाञ्चक भिडन्तमा अनिलले अष्ट्रेलियाली बक्सर राइट हर्नलाई दोस्रो राउन्डमै नकआउट गरेर स्तब्ध पारे । घरेलु खेलाडीविरुद्ध अनिलले देखाएको यो आक्रामक प्रदर्शन र जितलाई नेपाली प्रो-बक्सिङ वृत्तमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ । अनिलको यो सफलताप्रति उनका प्रशिक्षक तथा म्यानेजर म्याक्स बस्नेतले निकै खुसी व्यक्त गरेका छन् । नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय रंगमञ्चमा आफ्नो बलियो उपस्थिति देखाउन थालेको उल्लेख गर्दै बस्नेतले यो जितले आगामी दिनमा नेपाली बक्सरहरूका लागि विश्वस्तरमा अझ ठूला वैदेशिक अवसरका ढोकाहरू खोल्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा सहभागी अन्य नेपाली बक्सरहरू विकास राणा र महेन्द्र बहादुरले भने हार बेहोर्नु पर्यो । विकास राणा अष्ट्रेलियाली खेलाडी केलीसँग अंकको आधारमा पराजित भए भने सुदूरपश्चिम महेन्द्रनगरका महेन्द्र बहादुर पनि साबुरीसँगको प्रतिस्पर्धामा चुक्न पुगे । यद्यपि, हारका बावजुद उनीहरूले देखाएको प्राविधिक कौशल र हिम्मतलाई खेल विज्ञहरूले प्रशंसा गरेका छन् । नेपाल प्रो-बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापतिले यो सहभागिता आफैँमा ऐतिहासिक भएको बताएका छन् । उनले भने, “अष्ट्रेलिया जस्तो विकसित देशमा पुगेर प्रो-बक्सिङ खेल्नु र नकआउट जित निकाल्नुले नेपाली बक्सिङको उज्ज्वल भविष्यलाई संकेत गरेको छ । जसले अन्तर्राष्ट्रिय स्तरमा हाम्रा खेलाडीहरूको वास्तविक क्षमता र सम्भावनालाई प्रमाणित गरिदिएको छ ।”