‘एसियन गेम्स रन फर फन’ शनिबार हुने


काठमाडौं ।

जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) को रौनक र खेल भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार विशेष ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने ‌भएको छ‌ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार शनिबार बिहान ७:३० बजे सातदोबाटोस्थित एनओसी भवन परिसरबाट सुरु हुने यो दौड ३ किलोमिटरको दूरी पार गर्दै पाटन दरबार स्क्वायरको कात्तिक डबलीमा पुगेर समापन हुनेछ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को विश्वव्यापी कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको यो फन रनले एसियाडको खुसियाली बाँड्नुका साथै खेलकुदका माध्यमबाट एकता, सहभागिता र भ्रातृत्वको सन्देश फैलाउने विश्वास लिइएको छ ।

सातदोबाटोबाट सुरु भई बी एण्ड बी अस्पताल, ग्वार्को, प्रभात स्कुल, लुस्सी, कनिबहा, ओकुबाहाल हुँदै मंगलबजार पुग्ने यस पदयात्रामा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकाय र विद्यार्थी गरी करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा हुने यस ऐतिहासिक एसियाडमा ४३ खेलका ४ सय ६१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ, जसमा यसपटक ‘प्याडल’ र ‘टेकबल’ जस्ता नयाँ खेलहरू समेत थपिएका छन् । नेपालले यस महाकुम्भका लागि ३२ खेलमा आफ्नो सहभागिता सुनिश्चित गर्दै नाम दर्ता गराइसकेको छ। कार्यक्रमलाई भव्य बनाउन एनओसीका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ भने ओसिएका डेपुटी डाइरेक्टर विनोदकुमार तिवारी र आइची–नागोया आयोजक समितिका पदाधिकारीहरू फुमिहितो कानाइजुका र मानामी ओमुराको समेत विशेष उपस्थिति रहनेछ ।

५३ वटा खेलस्थलमा सञ्चालन हुने एसियाडको पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस फन रनले नेपाली खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्ने अपेक्षा गर्दै अध्यक्ष श्रेष्ठले सबै खेलप्रेमीहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।