खेलकुद महोत्सवको तयारी अन्तिम चरणमा


हेटौंडा ।

यही फागुन २९ गतेदेखि हेटौंडामा हुन लागेको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन चौरमा महोत्सव हुन लागेको हो ।
जेन्जी आन्दोलनका क्रममा भएको भौतिक क्षति पुनस्र्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको खेलकुद विकास समिति मकवानपुर अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।

हाल महोत्सवस्थलको घेराबारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थल मर्मतसम्भारलगायत कार्य भइरहेको छ,’ अध्यक्ष मोक्तानले भने । महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गरिनेछ । महोत्सव सञ्चालनमा करिब ८० लाख खर्च हुने बताइएको छ ।

महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराते प्रतियोगिता, १० किलोमिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन हुने बताइएको छ ।

महोत्सवमा खेलक्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपियाँसहित सम्मान गर्ने आयोजकले जानकारी गराएको छ । खेलकुद विकास समितिले यसअघि पनि महोत्सव आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको छ ।