प्रहरीमाथि बियरको बोतल र खुकुरी


हेटौंडा ।

 मकवानपुर लागुऔषधको ठूलो जर्जरमा कसरी फसिसकेको छ भन्ने कुराको थप पुष्टि बुधवार रातिको घटनाले गरेको छ । यस्ता घटनाहरु दिनानुदिन बढिरहेको बेला लागुऔषधका सेवनकर्ता र कारोबारीहरुले प्रहरीमाथि नै सांघातिक आक्रमण गरेका छन् । 

लागुऔषधमुक्त समाज निर्माणमा लाग्न भन्दै विभिन्न प्रकारका कार्यक्रमहरु हुँदै गर्दा पश्चिम मकवानपुरमा प्रहरीमाथि आक्रमण गरी घाइते बनाइएको छ । घटनामा संलग्न हुने दुई जनालाई प्रहरीले पक्राउ गरेको । एक जना प्रहरीको गोली लागेर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार राति करिब पौने ९ बजे मनहरी गाउँपालिका–१ मकरी क्षेत्रमा लागुऔषध सेवन तथा झगडा भइरहेको सूचना प्राप्त भएपछि नजिकको प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी टोलीले घटनास्थलमा पुगेर संलग्न व्यक्तिहरुलाई सोधपुछ गर्ने र झगडा छुट्याउने क्रममा उनीहरुले अचानक प्रसनि तामाङमाथि बियरको बोतल, खुकुरी र बञ्चरो प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमणबाट प्रसनि तामाङको दुवै हातमा चोट लागेको छ ।

आत्मरक्षाका लागि प्रसनि तामाङले साथमा रहेको पेस्तोलबाट एक राउन्ड गोली प्रहार गर्दा हेटौंडा उपमहानगरपालिका–१२, हात्तीगौंडा बस्ने करिब १९ वर्षीय सनिश तितुङको पेटको दाहिने भागमा गोली लागेको छ । गोली लागेर घाइते भएका तितुङलाई पनि प्रसनि तामाङसँगै उपचारका लागि हेटौंडा ११ स्थित चुरेहिल अस्पताल लगिएको छ । दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको थप प्रहरी टोलीले घटनामा संलग्न हेटौंडा उपमहानगरपालिका–१२ रमनटार बस्ने करिब २४ वर्षीय सञ्जय जिम्बा र सोही स्थानका करिब ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले घटनाबारे जानकारी दिँदै भने, टोली घटनास्थल पुगेर संलग्न व्यक्तिहरुलाई सोधपुछ गर्ने क्रममा उनीहरुले अचानक प्रहरी सहायक निरीक्षकमाथि बियरको बोतल, खुकुरी र बञ्चरो प्रयोग गरी आक्रमण गरेका थिए ।

पक्राउ परेका दुई जना तथा गोली लागेर घाइते भएका तितुङ बिगतमा लागुऔषध कारोबार, ज्यान मार्ने उद्योग र चोरीसम्बन्धी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।