लमजुङमा नियमित अनुगमन सुरु

1.22k
Shares

लमजुङ।

विगतमा चाडपर्वका बेला मात्र बजार अनुगमन गरिँदा त्यसको प्रभावकारिता कम देखिएकाले अब नियमित रुपमा अनुगमन सुरु गरिएको छ । सोही अनुसार एकीकृत सेवा कार्यालय लमजुङले बेंसीशहर नगरपालिका अन्तर्गत बजारका पसलहरुमा अनुगमन सुरु गरेको छ ।

बिहीबार एकीकृत सेवा कार्यालयकी प्रमुख मिता कुमारी थापाको नेतृत्वमा बेसीशहर बजारका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो । बजारमा खाद्य पदार्थको गुणस्तर कायम राख्ने, उपभोक्तालाई ठगी हुनबाट जोगाउने तथा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अनुगमन थालिएको प्रमुख थापाले बताए ।

नेपाल पत्रकार महासंघ र जिल्ला प्रशासन कार्यालयको सहयोग तथा समन्वयमा बेसीशहर बजारबाट अनुगमन सुरु गरिएको हो । बेसीशहर नगरपालिका–८ अन्तर्गतका १९ वटा पसलमा गरिएको अनुगमनका क्रममा दर्तामा किराना पसल उल्लेख भए पनि सोही पसलमा मासु र मदिरासमेत बिक्री वितरण गरिएको भेटिएको छ । केही पसल भने दर्ता नै नगरी सञ्चालन गरिएको पनि फेला परेको कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रेका खाद्य सामग्रीसमेत भेटिएका थिए । अनुगमन टोलीले त्यस्ता सामग्री बिक्री नगर्न निर्देशन दिँदै पसलहरुमा अनिवार्य रुपमा मूल्यसूची टाँस्न, पसलको नामसहितको बोर्ड राख्न र सामान बिक्री गर्दा उपभोक्तालाई बिल उपलब्ध गराउन पनि सचेत गराएको छ ।

उपभोक्ताको हित संरक्षण र बजारलाई व्यवस्थित बनाउन आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमन टोलीमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकी उपाध्यक्ष बसन्ता भट्ट, जिल्ला प्रशासन कार्यालयका दिनानाथ अधिकारी, उद्योग वाणिज्य संघका सदस्य यज्ञ नारायण श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्च लमजुङका प्रतिनिधि रमराज खनिया, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी तथा एकीकृत सेवा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो ।