काठमाडौं ।
भाषा आयोगका सदस्य तथा वरिष्ठ पत्रकार एवं साहित्यकार सुरेशकिरण मानन्धरको बुधबार राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरियो । पत्रकारिता, साहित्य र नेपालभाषाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका मानन्धरको पार्थिव शरीरको राजधानीको शोभाभगवतीस्थित इन्द्रायणी घाटमा नेवाः परम्पराअनुसार दाहसंस्कार गरिएको हो ।
स्वर्गीय मानन्धरको पार्थिव शरीरलाई उहाँका जेठा छोरा सुजः मानन्धरले दागबत्ती दिनुभयो । यसअघि शोभाभगवती विजयश्वरीबाट सुरु भएको शवयात्रा ढल्को, क्षेत्रपाटी, नरदेवी र असन हुँदै अन्ततः इन्द्रायणी घाटसम्म पु¥याइएको थियो । अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि मानन्धरको पार्थिव शरीरलाई बिहान ९ बजेदेखि १२ बजेसम्म विजयश्वरीस्थित नेपालभाषा मंका खलः परिसरमा राखिएको थियो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले मानन्धरको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रममा नेपाल सरकारका विभिन्न निकाय, सुरक्षा निकायका अधिकारी भाषा, तथा साहित्य क्षेत्रका व्यक्तित्व, पत्रकार, शिक्षक शिक्षिकाहरू, संस्कृतिकर्मी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित पदाधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईसहित पदाधिकारीहरू, नेपाल भाषा अकाडेमीका चान्सलर मल्ल के सुन्दर, काठमाडौं क्षेत्र नं ७ बाट निर्वाचित गणेश पराजुली र ९ बाट निर्वाचित डोलप्रसाद अर्याल, काठमाडौैं महानगरपालिकका कार्यवाहक मेयर सुनीता डंगोल, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांग,पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ दिलिप डंगोल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर श्रेष्ठ, गुठी संस्थानका प्रशासक शैलेस कुँवर, भिक्षु कौण्डन्यलगायतको उपस्थिति रहेको थियो
उपस्थित व्यक्तिहरूले पत्रकारिताको माध्यमबाट भाषा, मौलिकता जोगाउन पु¥याएको योगदान, उहाँको साहित्य र पत्रकारिताका जीवनका विविध पक्षलाई स्मरण गर्र्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । मानन्धरको निधनले पत्रकारिता, भाषा र साहित्य क्षेत्रले एक सक्रिय र प्रतिबद्ध व्यक्तित्व गुमाएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका थिए ।
उहाँका व्यंग्यात्मक लेखहरूले सामाजिक र राजनीतिक विकृतिमाथि प्रभावकारी ढंगले प्रहार गर्दै पाठकलाई सोच्न बाध्य पार्ने गरेका स्मरण गर्दै हास्यव्यंग्य कलाकार मनोज गजुरेलले भन्नुभयो– ‘उहाँको लेखनले धेरै सर्जक र प्रस्तोताहरूलाई प्रेरणा दिएको थियो । उहाँको सरलता, भद्रता र आत्मीय व्यवहारले उहाँलाई चिन्ने सबैको मन जितेको थियो ।’
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ– ‘जनआस्थामा प्रकाशित उहाँको हास्यव्यंग्य कन्टेन्ट चोरेर कमेडी बनाएको ऋण मैले तिर्न सकिनँ । तपार्इंको सरलता र भद्रताको क्यारिकेचर गरौंला भन्ने वचन पूरा गर्न भ्याइनँ ।’
कवि अभय श्रेष्ठले सुरेश किरणलाई धेरैले पत्रकारिता, व्यंग्य लेखन र पहिचान आन्दोलनका माध्यमबाट चिन्ने गरेको भए पनि उहाँको सबैभन्दा उचो व्यक्तित्व कवितामै प्रकट हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘कवितामा समसामयिक विषयलाई उच्च शिल्पसहित अद्भुत व्यंग्यात्मक पुट दिने शैली उहाँको लेखनको विशिष्टता मानिन्थ्यो । यस्तो प्रवृत्तिमा मानन्धर स्तरका कवि विरलै भेटिन्छन् ।’
लेखक, साहित्यकारको निधनपछि निधनपछि समाजले चाँडै बिर्सने प्रवृत्ति रहेको भन्दै कवि श्रेष्ठले समकालीनहरूले सुरेश किरणको सिर्जना र योगदानलाई संस्थागत रूपमा सम्झिने प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मानन्धरलाई नेपाल भाषा अन्दोलनका दरो खम्बा, उत्पीडित जातीय मुक्ति आन्दोलनका अथक अभियन्ता, देशका विशिष्ट सार्वजनिक बौद्धिक व्यक्तित्वको रूपमा स्मरण गर्नुभयो ।
मानन्धरको ५९ वर्षको उमेरमा हृदयाघातका कारण गत सोमबार निधन भएको थियो । मानन्धरका श्रीमती सजनी मानन्धरसहित दुई छोरा रहेका छन् ।











प्रतिक्रिया