उदयपुरको दुबै क्षेत्रका एक्काइस उम्मेदवारको जमानत जफत

1.03k
Shares

उदयपुर ।

 यही फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरको दुवै क्षेत्रबाट विभिन्न राजनीतिक दलहरूबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकाहरुमध्ये २१ जना प्रत्यक्षतर्फको उम्मेदवारहरुको जमानत फिर्ता नहुने भएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नं १ बाट १ जना स्वतन्त्रसहित १८ जना र २ नं क्षेत्रबाट १ जना स्वतन्त्रसहित १३ जनाले प्रतिनिधिसभा सदस्य पदकालागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएकाहरु मध्ये रास्वपा, नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीका दुवै क्षेत्रका उम्मेदवारहरुले मात्र खसेको मतको १० प्रतिशत मत कटाएका कारण जमानत जोगाएकाले सो रकम फिर्ता पाउने भएका हुन । अन्य दलहरुका उम्मेदवारहरुले भने खसेको कुल मतको सदरको पनि १० प्रतिशत मत पाउन नसक्दा जमानत फिता नपाउने भएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उदयपुरको १ नं निर्वाचन क्षेत्रमा कुल ८० शजार १ सय २० मत खसेको थियो । खसेको मत मध्ये ७३ हजार ९सय १६ मत सदर भएकोले सदर मतको १० प्रतिशत ल्याउन सक्नेले जमानत फिर्ता पाउने र सदरमतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत फिर्ता नहुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका निर्वाचन अधिकृत दिपक दाहालले बताए । 

सदरमतको १० प्रतिशत मत ल्याएर विजयी भएका छन् । १० प्रतिशत मत प्राप्त गर्नेहरुमा रास्वपाका पारसमणी गेलालले ४१ं.३८ प्रतिशत, श्रम संस्कृति पार्टीका राजेश कुमार राईले १५.७० प्रतिशत ल्याएर उप विजेता बनेका छन् । नेपाली कम्युनिस्ट पार्टीका बलदेव चौधरीले १३.५६ प्रतिशत,  नेपाली कांग्रेसका विदुर बस्नेतले १३.०९ प्रतिशत र नेकपा एमालेका दुर्गा कुमार थापाले १२.४५ प्रतिशत मत ल्याएर जमानत रकम जोगाउन सफल भएका छन् ।

उदयपुरको निर्वाचन क्षेत्र १ बाट जमानत फिर्ता नहुने हरुमा राप्रपाका  सुवासचन्द्र खड्का १.२७ प्रतिशत, जनता समाजवादी पार्टीका गणेश कुमार राई ०.८१ प्रतिशत, उज्यालो नेपाल पाटर्सका अर्जुन तामाङ ०.७६ प्रतिशत,मंगोल नेशनल अर्गनाइजेसनका बद्री बिक्रम राई ०.१६ प्रतिशत मतमा खुम्चिएका छन् ।

यसैगरी नेकपा माओवादीका अमृत बहादुर खत्रीले ०.१५ प्रतिशतमात्र मत ल्याएका छन् भने संयुक्त नागरिक पार्टीका सुरेश राईले ०.१४ प्रतिशत, नेपाली जनता दलका कुशेश्वर चौधरीले ०.११ प्रतिशत,आम जनता पार्टीका मनोज कुमार पौडेलले ०.०७ प्रतिशत, नेमकिपाका विष्णु बहादुर खत्रीले ०.०६ प्रतिशत मतमा खुम्चिएका छन् ।

१० प्रतिशत मत ल्याउन नसक्ने अन्य दलका उम्मेदवारहरुमा राष्टिय जनमोर्चाका लिल बहादुर राईले ०.०६ प्रतिशत, नागरिक सर्वोच्चता पार्टीका प्रशान्त राईले ०.०६ प्रतिशत,नेपाल जनमुक्ति पार्टीका गोकर्ण राईले ०.०४ प्रतिशत मत ल्याएर ५ वर्षसम्म उठ्न नसक्ने गरी ढलेका छन् । 

जिल्ला निर्वाचन अधिकृत दाहालका अनुसार उदयपुरको निर्वाचन क्षेत्र नं २मा प्रत्यक्ष तर्फ ४४ हजार ४ सय २९ मत खसेकोमा ३ हजार ६७ठ मत बदर भएको र ४० हजार ६१६ मत सदर भएको छ । 

यस निर्वाचन क्षेत्रमा सदरमतको १० प्रतिशत मत कटाउनेहरुमा रास्वपाका सूर्य बहादुर तामाङले ३६.३३ प्रतिशत मत ल्याएर विजयी भएकोले जमानत जोगिएको छ  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बर बहादुर रायमाझीले १८.७७ प्रतिशत, नेपाली कांग्रेसका रामकुमार राईले १७.८९ प्रतिशत, नेपाली कम्युनिस्ट पार्टीका सुरेश कुमार राईले १२.७५ प्रतिशत र श्रम संस्कृति पार्टीका  बलराज राईले १०.१६ प्रतिशत मत ल्याएर जमानत फिर्ता लिन सफल भएका छन् । 

यस क्षेत्रमा सदरमतको १० प्रतिशत मत ल्याउन नसक्ने ८ जना उम्मेदवारको जमानत फिर्ता नहुने अवस्था रहेको छ । यस क्षेत्रमा जम्मा १ स्वतन्त्र सहित १३ जना उम्मेदवार प्रतिनिधिसभा सदस्य पदको चुनावी मैदानमा रहेकोमा ८ जनाको जमानत फिर्ता नहुने जानकारी दिंदै दाहालले जमानत जफत हुनेहरुमा राष्ट्रिय परिवर्तन पार्टीका अरुण राईको १.४९ प्रतिशत, ंगोल नेशनल अगृनाइजेसनका भाष्कर राईको ०.९४ प्रतिशत मत प्राप्त भएको बताए ।

 राप्रपाका विष्णु बहादुर खड्काको ०.५४ प्रतिशत, नेकपा माओवादीका दुर्गा बहादुर तामाङको ०.३७ प्रतिशत, जनता समाजवादी पार्टीका केशव बहादुर मगरको ०.२५ प्रतिशत, स्वतन्त्र उम्मेदवार मेजर कुमार राईको ०.२२ प्रतिशत, आम जनता पार्टीका बमबहादुर मगरको ०.२१ प्रतिशत, नेमकिपाका पूर्ण बहादुर बुढाथोकीको ०.१० प्रतिशत मत आएकोमा नियमानुसार जमानत जफत भएको हो ।