म्याग्दीमा ५४ दशमलव २७ प्रतिशत मत खस्यो, शुक्रवार बिहान सर्वदलीय वैठक बसेपछि मतगणना थालिने


म्याग्दी।

हिमाली जिल्ला म्याग्दीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा कुल ५४ दशमलव २७ प्रतिशत अर्थात् ४६ हजार ८ सय ९३ मत खसेको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्ण रुपमा चलेको मतदानको कार्यबाट सो परिमाणमा मत खसेको हो ।

खसेको मतमध्ये यसपटक भएको प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत जिल्लामा कुल मतदातामध्ये महिला २५ हजार १ सय १८, पुरुष २१ हजार ७ सय ७४ सय र अन्यतर्फ १ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । अहिले जिल्लाको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा रहेका मतदान केन्द्रबाट मतपेटिका सङ्कलनको काम भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो ।

यो समाचार तयार पार्दासम्म जिल्लाको धवलागिरि गाउँपालिका, रघुगंगाको कुईनेमङ्गले र अन्नपूर्णको नांगी, राम्चेलगायत ठाउँबाट मतपेटिकाहरु सदरमुकाम आउने क्रममा रहेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । वैदेशिक रोजगारी, बाहिरी जिल्लामा बढ्दो बसाइँसराइ तथा अन्य विभिन्न कारणले गर्दा कुल मतको ४५ दशमलव ७३ प्रतिशत मत खस्न सकेन । जिल्लामा अनुमान गरेभन्दा ५–७ प्रतिशत मत कम खसेको जनाइएको छ । निर्वाचन आयोगले बनाएको निर्वाचन कार्यतालिका अनुसार बिहान ७ बजेदेखि जारी मतदानमा सबै मतदान केन्द्रमा विवादरहित तरिकाले मतदानको कार्य सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिँदै राति अबेरसम्म जिल्लाको टाढा रहेका मतदान केन्द्रबाट पनि मतपेटिका सदरमुकाम बेनीमा आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार सबै मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसकेपछि शुक्रवार बिहान सर्वदलीय तथा सर्वपक्षीय वैठक बसेर मतगणनाको काम अगाडि बढाइने भएको छ । सुरक्षा व्यवस्था चुस्त, दुरुस्त र प्रभावकारी बनाइएको हुँदा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

म्याग्दीका सबै मतदानस्थलमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठनागरिक, शारिरीक रुपमा अशक्त, गर्भवती महिला र बिरामीलाई मतदान गर्नको लागि प्राथमिकता दिइएको थियो । विगतको समयका निर्वाचनमा जस्तो यसपटक भने झडप तथा विवादजन्य गतिविधिहरु निर्वाचन अवधिभर नदेखिएको तथा विवादलाई समाधान गर्न सफल भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो ।

म्याग्दी जिल्लामा कुल ८२ वटा मतदानस्थल र १ सय २० वटा मतदान केन्द्रमा गरी कुल ८६ हजार ३ सय ९७ जना मतदाताहरु रहेका थिए । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले दिएको जानकारी अनुसार मुख्यअधिकृतको निर्वाचनको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणनास्थल र कार्यालयका अन्य कोठामा समानुपातिक तथा प्रत्यक्षतर्फको मतपेटिकाहरु ल्याएर छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न गरिसकेपछि समानुपातिकको मतगणना हुनेछ । म्याग्दीमा राजनीतिक दलसहित स्वतन्त्र गरी जम्मा १२ जना उम्मेदवारहरु निर्वाचनमा सहभागी भएका छन् ।