अन्तर्राष्ट्रिय करातेको त्यो कठोर, तीव्र र अत्यन्त प्रतिस्पर्धात्मक संसार । जहाँ एक सेकेन्डको ढिलाइले जितलाई हारमा बदल्न सक्छ र जहाँ हरेक मुक्कामा एउटा सपना लुकेको हुन्छ । त्यहाँ नेपालले एउटा निर्भीक, अटल र प्रेरणादायी योद्धा पाएको छ । जसको नाम हो एरिका गुरुङ । शान्त स्वभाव, अनुशासित जीवन र रिङभित्र प्रवेश गरेपछि एउटा भोक प्यास बिर्सेको सिंहनी झैँ आक्रामक ऊर्जा प्रदर्शन गर्ने यी युवा कराते खेलाडी आज विश्व कराते जगत्मा नेपालको पहिचान बनेर उभिएकी छन् । काठमाडौँको मनमैजुस्थित एउटा साधारण डोजोबाट सुरु भएको उनको यात्रा आज विश्व वरियताको १३ औँ स्थानसम्म पुग्नु कुनै चमत्कारभन्दा कम छैन । विश्व करातेका शक्तिशाली र सम्पन्न राष्ट्रका खेलाडीहरूसँग काँधमा काँध मिलाएर उभिनु आफैँमा एउटा ऐतिहासिक गौरव हो । नेपालजस्तो सीमित स्रोत–साधन र खेलकुद पूर्वाधारको अभाव भएको देशका लागि यो केवल एउटा व्यक्तिगत सफलता मात्र होइन, यो त सपना देख्ने साहस गर्ने हरेक नेपालीका लागि एउटा जीवन्त र ऊर्जावान् प्रेरणा पनि हो ।
एरिकाको यो गौरवमय जीवनकथा कुनै चम्किलो वा सुनौलो सुरुवातबाट सुरु भएको होइन । यो यात्रा सुरु हुन्छ साढे नौ वर्षकी एक सामान्य र लजालु केटीबाट, जसले मनमैजु डोजोमा पहिलो पटक करातेको सेतो पोसाक लगाएर टाटामी म्याटमा पाइला राखेकी थिइन् । त्यतिबेला उनले भविष्यमा विश्वस्तरमा नेपालको रगतपसिनाले सिञ्चित झन्डा फहराउने कल्पना पनि सायद गरेकी थिइनन् । शुभकामना इग्लिस बोर्डिङ स्कुलमा पढ्दै गर्दा गुरु निरज महर्जनको अभिभावकत्वमा करातेको आधारभूत ज्ञान लिइरहँदा सुरुमा यो खेल उनलाई केवल एउटा रमाइलो अभ्यास जस्तो लाग्थ्यो । तर, समयको गतिसँगै दिनप्रतिदिनको कडा परिश्रम र पसिनाले उनको जीवनलाई एउटा यस्तो नयाँ मोडतर्फ धकेल्यो, जहाँबाट पछाडि फर्केर उनले हेर्नु परेन । कराते केवल उनको लागि खेल मात्र रहेन, उनको जीवनको धड्कन र अस्तित्वको पर्याय बन्न पुग्यो ।

उनको राष्ट्रियस्तरको पहिलो पाइला निकै चुनौतीपूर्ण थियो । आठ वर्षअघि राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुँदा उनी अनुभवहीन थिइन् र पहिलो खेलमै त्रिभुवन आर्मी क्लबकी एक अनुभवी खेलाडीसँग नकआउटको आधारमा पराजित भइन् । त्यो हारले एउटी सानी बालिकाको मनमा चोट त पु¥यायो, तर त्यसले उनलाई निराश तुल्याएर घर पठाएन । बरु, त्यो हारले उनलाई एउटा मूल्यवान् पाठ सिकायो । रिङमा जित्नका लागि केवल साहस मात्र पर्याप्त हुँदैन, त्यहाँ त अनुभव, चतुर रणनीति र फलामजस्तै मजबुत मानसिक दृढता पनि आवश्यक हुन्छ भन्ने कुरा उनले महसूस गरिन । त्यही हारको जगमा उनले आफ्नो भविष्यको भव्य महल निर्माण गर्ने संकल्प गरिन् ।
एरिकाको जीवनको पहिलो ठूलो र अविस्मरणीय उपलब्धि नेपालगञ्जमा सम्पन्न आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताबाट भयो । बागमती प्रदेशको प्रतिनिधित्व गर्दै गर्दा उनको पदक आउने आशा निकै न्यून थियो । तर, जब एरिका टाटामी म्याटमा उत्रिइन्, उनले आफ्नो प्रतिभाले सनसनी मच्चाइन् । उनले कांस्य पदक जितिन् । पहिलो पटक राष्ट्रियस्तरको पोडियममा उभिँदा उनको आँखामा एउटा छुट्टै चमक देखियो । उनले आफ्नो सपनाहरू केवल रातमा देखिने कल्पना मात्र होइनन्, ती त दिउँसोको कडा घाममा पसिना बगाएर प्राप्त गर्न सकिने वास्तविकता पनि हुन् भनेर महसुस गरिन् ।
त्यसपछिका दिनमा उनको आत्मविश्वास यति बढ्यो कि उनले पछाडि फर्केर हेर्नै परेन । कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो र तेस्रो संस्करणमा स्वर्ण पदक जितेपछि त उनी राष्ट्रिय टोलीको एउटा अनिवार्य हिस्सा बन्न पुगिन् । उनको खेल यात्रामा एपीएफ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप एउटा कोशेढुङ्गा सावित भयो । जहाँ उनले सशस्त्र प्रहरी बलकी एक वरिष्ठ र अनुभवी खेलाडीलाई हराउँदै स्वर्ण पदक हात पारिन् । उनको यो निडर शैलीबाट नेपाल प्रहरी यति प्रभावित भयो कि उनलाई तत्कालै अनुबन्धनका लागि प्रस्ताव आयो । एरिकाले पनि नेपाल पुलिस क्लब रोजिन् र पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा ६८ केजी प्लस तौल समूहमा स्वर्ण जितेर उनले आफूलाई राष्ट्रको निर्विवाद नम्बर एक खेलाडीका रूपमा स्थापित गरिन् ।
अन्तर्राष्ट्रिय मञ्चमा एरिकाको उदय अझ सनसनीपूर्ण रह्यो । सन् २०२३ मा इन्डोनेसियाको जकार्तामा आयोजित १०औँ सितोरियो एसियन कराते च्याम्पियनसिपमा उनले स्वर्ण पदक जित्दै नेपाली करातेको इतिहासमा नयाँ पाना थपिन् । तर, उनको करियरको सबैभन्दा ठूलो र भावनात्मक क्षण भने चीनको हाङ्चौमा सम्पन्न १९औँ एसियाली खेलकुद थियो । सन् २०२३ को त्यो ऐतिहासिक क्षणमा उनले ६८ केजी प्लस तौल समूहमा नेपालका लागि ऐतिहासिक रजत पदक जितिन् । सेमिफाइनलमा जापानकी युजुकी सावो जस्ती विश्वप्रसिद्ध खेलाडीलाई ‘गोल्डेन स्कोर’ को आधारमा पराजित गर्नु कुनै जादुभन्दा कम थिएन । फाइनलमा कजाख्स्तानकी ओलम्पिक पदक विजेता सोफिया बेरुलत्सेभासँग पराजित भए तापनि उनले नेपाललाई २५ वर्षपछि एसियाली खेलकुदको व्यक्तिगत विधामा रजत दिलाएर इतिहास रचिन् । जब हाङ्चौको भब्य रंगशालामा नेपाली झण्डा फहराईयो, तब एरिकाका आँखा मात्र रसाएनन्, सिङ्गो नेपालको छाती गर्वले चौडा भयो ।

तर, यो सफलताको पछाडि एउटा लुकेको पीडादायी कथा पनि थियो । एसियाली खेलकुदको तयारीकै समयमा उनका डोजो गुरु निरज महर्जन विदेश बसाइँ सर्ने निर्णयमा पुगेका थिए । आफ्नो मार्गदर्शक र अभिभावक नहुँदाको त्यो क्षण एरिका र उनका साथीहरूका लागि एउटा ठूलो मानसिक तनाव थियो । तर, गुरुको अनुपस्थितिमा उनीहरूले हरेस खाएनन् । टिमकै सिनियर खेलाडी सन्तोष श्रेष्ठले गुरुको कमीलाई धेरै हदसम्म पूरा गरे । पछि राष्ट्रिय टोलीका अनुभवी प्रशिक्षक कुशल श्रेष्ठको मातहतमा प्रशिक्षण गरेपछि एरिकाको खेलमा थप निखार आयो । प्रशिक्षक श्रेष्ठको रणनीतिक कौशल र एरिकाको अदम्य इच्छाशक्तिको संयोजनले नै हाङ्चौको त्यो ऐतिहासिक सफलता सम्भव भएको हो ।
आज एरिका गुरुङको यात्रा झन् रोमाञ्चक र गौरवपूर्ण मोडमा आइपुगेको छ । भुटानमा भएको साउथ एसियन च्याम्पियनसिपमा दोहोरो स्वर्ण, अमेरिकाको टेक्सासमा स्वर्ण र रजत र विश्व कराते महासंघको प्रिमियर लिगदेखि युथ लिगसम्म उनको पदक जित्ने क्रम रोकिएको छैन । टर्कीको इस्तानबुलमा प्रिमियर लिगको रजत पदक जित्नु र विश्व वरीयतामा १३औँ स्थानमा उक्लिनु नेपाली खेलकुद इतिहासकै एउटा दुर्लभ र असाधारण सफलता हो । करातेको म्याट बाहिर एरिका एउटी सामान्य विद्यार्थी हुन्, जो एनआर कलेजमा स्नातक तहमा अध्ययनरत छिन् । तर, उनीभित्रको योद्धा सधैँ जागृत रहन्छ । उनी मेसीकी फ्यान हुन् र फुटबलमा पनि उत्तिकै रुचि राख्छिन् ।
आज उनी केवल एउटी खेलाडी मात्र होइनन्, उनी त मनमैजुका गल्लीदेखि विश्वका ठूला सहरसम्मका हजारौँ कराते खेलाडीहरूका लागि एउटा उदाहरणको प्रतीक बनेकी छन् । उनको लक्ष्य अब एउटै छ करातेको सर्वोच्च मञ्च, ओलम्पिक वा विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेर नेपाली गौरवलाई अझ उचाइमा पु¥याउने । एसियन गेम्स २०२६ का लागि नेपाल ओलम्पिक कमिटीबाट एनओसी ओलम्पिक छात्रवृत्तिमार्फत पाएको मासिक ५० हजारले उनलाई आफ्नो लक्ष्यमा पुग्न ठूलो साथ मिलेको छ । एउटा सानो डोजोबाट सुरु भएको यो महायात्राले यदि साहस र परिश्रम छ भने नेपालको एउटा कुनाबाट उठेर पनि विश्वको आकाश छुन सम्भव हुन्छ भन्ने सन्देश दिएको छ । एरिका गुरुङको कराते करियर केवल एउटा खेलको कथा मात्र होइन, यो त साहस र एउटी नारीको जित्ने दृढ संकल्पको महागाथा हो ।













प्रतिक्रिया