हेटौंडा ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा मकवानपुर जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान कार्य सम्पन्न भएको छ ।
३ लाख १५ हजार ३ सय ३४ मतदाता रहेको मकवानपुरमा ५९.१६ प्रतिशत मत खसेको छ । पुरुष ९६ हजार ६ सय ३४ र महिला ८९ हजार ९ सय १२ को मत खस्दा तेस्रोलिंगी मतदाता ५ जना रहे । निर्वाचन क्षेत्र नम्बर–१ मा ९५ हजार ३ सय १० र क्षेत्र नम्बर–२ मा ९१ हजार २ सय ४१ मा खसेको छ । कुल १ लाख ८६ हजार ५ सय ५१ मा खसेको छ ।
मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार जिल्लामा रहेका कुल ३ लाख १५ हजार ४ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ मत खसेको हो । थाहा नगरमा ३३ हजार ९ सय ८१ मतदाता रहेकोमा १९ हजार ९ सय २२ मत (५८.६२ प्रतिशत) मात्र मत खसेको छ ।
निर्वाचन क्षेत्र–१ मा खसेको मत ९५ हजार ३ सय १० मा पुरुष ४७ हजार ६ सय ७०, महिला ४७ हजार ६ सय ३६ र तेस्रोलिंगी ४, निर्वाचन क्षेत्र–२ मा खसेको मत ९१ हजार २ सय ४१ म पुरुष ४८ हजार ९ सय ६४, महिला ४२ हजार २ सय ७६ र तेस्रोलिंगी १ जना छन् ।
मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जिल्लाभर मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको जानकारी दिनुभयो । मतदान सकिएसँगै विभिन्न मतदानकेन्द्रबाट मतपेटिका संकलन गरी मतगणना स्थलतर्फ ल्याउने काम भएको छ ।
हेटौंडा उपमहानगरपालिकाभित्रका मतदानकेन्द्रका मतपेटिका भुटनदेवी माध्यमिक विद्यालयस्थित मतगणना स्थलमा ल्याइएका छन् । जिल्लाका अन्य स्थानीय तहका मतदानकेन्द्रबाट पनि मतपेटिका ल्याउने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ । मकवानपुरको भौगोलिक अवस्थाका कारण केही मतदानकेन्द्रका मतपेटिका भने छिमेकी जिल्लाको सडकमार्ग प्रयोग गरेर ल्याउनुपर्ने हुन्छ ।
क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिकाका तीन मतदानकेन्द्रका मतपेटिका बारा र रौतहट हुँदै ल्याइनेछ । बकैया–१ स्थित सरस्वती माध्यमिक विद्यालय मोरङ्गे र वडा नम्बर–२ को बालविकास निमावि सरस्वती भमरा मतदानकेन्द्रका मतपेटिका रौतहटको चन्द्रपुर हुँदै ल्याइने भने बकैया–६ स्थित राष्ट्रिय कालिका प्राथमिक विद्यालयको मतपेटिका बारा जिल्लाको निजगढ हुँदै ल्याइने निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।
क्षेत्र नम्बर–२ अन्तर्गत राक्सिराङ गाउँपालिकाका केही मतदानकेन्द्रका मतपेटिका चितवन हुँदै ल्याइनेछ । वडा नम्बर–६ का राष्ट्रिय माध्यमिक विद्यालय सिलिङ्गे र आयुर्वेद औषधालय शिलाधुनी, वडा नम्बर–७ का सातकन्या आधारभुत विद्यालय र दामराङ प्राथमिक विद्यालय तथा वडा नम्बर–८ स्थित ठूलोटोड्के माविका मतपेटिका चितवनको राप्ती नगरपालिका भण्डारा हुँदै मतगणनास्थलमा ल्याइनेछ ।
मकवानपुरका दुई निर्वाचन क्षेत्रमा गरी ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना शुक्रबार विहानबाट सुरु हुने भएको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार शुक्रबार ७ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । उक्त बैठकपश्चात सर्वसहमतिमा गणना प्रक्रिया अगाडि बढाइनेछ ।

हेटौंडा–८ स्थित चन्द्रोदय मावि मतदानकेन्द्रबाट पाँच दिनकी सुत्केरी निलम तिमल्सिनाले मतदान गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडा–१८ स्थित दोभानचौरमा रहेको कमला आधारभुत विद्यालय मतदानकेन्द्रबाट मतदान गर्नुभएको छ ।
भीमफेदी कारागारका १ सय ४९ कैदीबन्दी मतदान गरेका छन् । क्षेत्रीय कारागार भीमफेदीमा १ सय ४९ मत खसेको छ । १ सय ६२ मतदातामध्ये १ सय ४९ मत खसेको हो । भीमफेदी कारागारमा ४ महिलासहित १ सय ६६ मतदाता रहेकोमा ४ जना जेलबाट छुटेकाले १ सय ६२ जना मतदाता थिए । तीमध्ये ४ जना महिलासहित १ सय ४९ कैदीबन्दीले मतदान गरेका हुन् । उनीहरुले समानुपातिकतर्फमात्र मतदान गर्न पाउँछन् । भरतपुर कारागारमा पनि मतदान भएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान ९ बजे नै सकिएको हो । उक्त समयमा १ सय १४ जना कैदीले मतदान गरेका हुन् । भरतपुरको अस्थायी मतदानकेन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।
१९० गाडी कारबाहीमा
मकवानपुरका प्रजिअ बसन्त अधिकारीसहित टोली सुरक्षाका लागि हेटौंडाको फिल्डमै ओर्लिएको थियो । टोलीले अनुमतिबिना चलाइएका १ सय ९० गाडी÷बाइक÷अटोलाई कारबाही गरेको थियो । सामाजिकसञ्जालमार्फत अफवाह फैलाएको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिअनुसार फेसबुकलगायत सामाजिकसञ्जालमा भारतीय प्रधानमन्त्रीको एआई जेनेरेटेड डिप फेक भिडियो पोष्ट गरी समाजमा भ्रम तथा द्वेष फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१६ बस्ने नन्दप्रसाद भट्टराईलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत् मुद्धा दर्ता गरी अनुसन्धान थालिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया