काठमाडौं।
मध्यपूर्वी क्षेत्रमा उत्पन्न हवाई संकटका कारण प्रभावित अन्तर्राष्ट्रिय उडानबीच अलपत्र परेका तथा ट्रान्जिट यात्रुलाई लक्षित गर्दै सीमित उडान सञ्चालन गर्ने तयारी गरिएको छ । सम्बन्धित वायुसेवाले उडान पुष्टि गरेका यात्रुलाई मात्रै विमानस्थल आउन आग्रह गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सूचना जारी गर्दै मध्यपूर्वी क्षेत्रमा उडान अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय उडानहरूमा असर परेको जनाएको छ । यस्तो अवस्थामा केही वायुसेवाले सो क्षेत्रमा अलपत्र परेका यात्रु तथा तेस्रो मुलुक हुँदै नेपाल आउने वा नेपालबाट सम्बन्धित गन्तव्यसम्म जाने कनेक्टिङ÷ट्रान्जिट यात्रुका लागि सीमित उडान सञ्चालन गर्ने जानकारी दिएको छ ।
कार्यालयका अनुसार उडान सञ्चालन हुने पुष्टि भएपछि मात्र यात्रुले सम्बन्धित वायुसेवासँग समन्वय गरी आफ्नो बुकिङ कन्फर्म गर्नुपर्नेछ । बुकिङ पुष्टि नभएसम्म विमानस्थल नआउन यात्रुलाई आग्रह गरिएको छ ।
मध्यपूर्वी क्षेत्रमा उत्पन्न हवाई संकटका कारण धेरै यात्रु विभिन्न स्थानमा अलपत्र परेका छन् । सोही परिस्थितिमा कतार एयरवेजले ६ दिनपछि सीमित राहत उडान सञ्चालन गर्ने घोषणा गरेको छ । एयरलाइन्सका अनुसार राहत उडान दोहाबाट नभई ओमानको मस्कटबाट बेलायतको लन्डन (हिथ्रो), जर्मनीको बर्लिन, डेनमार्कको कोपेनहेगन, स्पेनको म्याड्रिड, इटालीको रोम र नेदरल्यान्ड्सको एम्स्टर्डमका लागि सञ्चालन गरिनेछ। साथै साउदी अरेबियाको रियादबाट जर्मनीको फ्रान्कफर्टका लागि पनि एक उडान सञ्चालन गरिने जनाएको छ । तर घोषणा गरिएका राहत उडानको सूचीमा नेपाल समावेश गरिएको छैन । कतार एयरवेजका दुईवटा वाइडबडी जहाज भने शनिबारदेखि काठमाडौंमै रोकिएका छन् । एयरलाइन्सका अनुसार हालको असामान्य अवस्थाका कारण विभिन्न स्थानमा रोकिएका यात्रुलाई गन्तव्यसम्म पु¥याउने उद्देश्यले यी उडान सञ्चालन गरिनेछ । यता कतारको हवाई आकाश बन्द रहेकाले एयरलाइन्सका नियमित उडानहरू अस्थायी रूपमा स्थगित रहेका छन्। कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई आकाश सुरक्षित रूपमा पुनः खुला भएको घोषणा गरेपछि मात्रै नियमित उडान पुनः सञ्चालन गरिने जनाइएको छ । कतार एयरवेजले यसबारे थप जानकारी शुक्रबार दोहा समयअनुसार बिहान ९ बजे सार्वजनिक गर्ने जनाएको छ । यात्रुहरूलाई आधिकारिक सूचना प्राप्त नभएसम्म विमानस्थल नजान पनि आग्रह गरिएको छ ।












प्रतिक्रिया