७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण

खरिपाटी र बोडेमा आजै रातिबाट मतगणनाको तयारी

3.67k
Shares

भक्तपुर ।

शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएसँगै भक्तपुरमा मतगणनाको तयारी सुरु गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार, सबै स्थानमा शान्तिपुर्ण रूपमा मतदान सम्पन्न भएसँगै मुचुल्का उठाएर मतपेटिका सम्बन्धित मतगणना स्थलमा ल्याउने काम भइरहेको छ । 

बेलुकी सात वजेसम्ममा मतपेटिका ढुवानी सम्पन्न गरेर सर्वदलीयर सर्वपक्षीय वैठकको आयोजना गरि रुजु गरी मतगणना सुरु गरिने प्रजिअ ढकालको भनाई छ। 

जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को मतगणना बिधुत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा हुने भएको छ । त्यसैगरी क्षेत्र नं. २ को मतगणना मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने सहायक प्रमुख जिल्ला अधिकारी शुरेस आचार्यले बताए। 

सहायक प्रजिअ आचार्यका अनुसार, मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको सुरक्षित स्थान निर्माण गरिएको छ । 

दुवै स्थानमा एकैपटक चार -चार स्थानमा मतगणना गर्नेगरी तयारी गरिएको छ । राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएर मतगणना स्थलको निरीक्षण समेत गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । शुक्रवार साँझसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको प्रशासनले जनाएको छ ।

भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदान स्थलका २३३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

यहाँ ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले अन्तिम तथ्याङ्क आउन केही समय लाग्ने बताउँदै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जानकारी दिए ।