स्रोत नखुलेको ११ लाख २२ हजार नगदसहित युवक पक्राउ


बारा।

बाराको आदर्श कोतवाल गाउँपालिका–७ बाट स्रोत नखुलेको नगदसहित एक युवक पक्राउ परेका छन्। बिहीबार बिहान प्रहरीले सुवर्ण गाउँपालिका–१ वगही बस्ने ३२ वर्षीय रोबिन कुमार यादवलाई ११ लाख २२ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सिम्रौनगढबाट तेलकुवा तर्फ आउँदै गरेको ना.४१ प ३३८६ नम्बरको मोटरसाइकललाई नियमित जाँचका क्रममा रोकेर तलासी गर्दा चालक यादवको साथबाट उक्त नगद फेला परेको थियो। बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादव र बरामद नगदबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।