सुर्खेत ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लामा मतदान कार्य उत्साहजनक रूपमा अघि बढेको छ। प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बिहीबार बेलुका ४ बजेसम्म कर्णालीमा कुल ४९.३ प्रतिशत मतदान भइसकेको छ।
प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा रहेका कुल १० लाख ४८ हजार ३१८ मतदातामध्ये बेलुका ४ बजेसम्म ५ लाख १७ हजार ८२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्। मतदान प्रक्रियामा पुरुषको तुलनामा महिलाको सहभागिता उल्लेख्य देखिएको छ। निर्वाचन कार्यालयका अनुसार हालसम्म २ लाख ८० हजार ७३७ महिला र २ लाख ३६ हजार ३४३ पुरुषले मतदान गरिसकेका छन्।
हिमाली जिल्लामा उत्साह, डोल्पा अग्रस्थानमा
भौगोलिक रूपमा विकट मानिएका हिमाली जिल्लाहरूमा मतदाताको उपस्थिति निकै बाक्लो देखिएको छ। प्रतिशतका आधारमा डोल्पा जिल्लामा सबैभन्दा बढी ६१.२२ प्रतिशत मतदान भएको छ। यस्तै हुम्लामा ५७.०५ प्रतिशत, मुगुमा ५६.९९ प्रतिशत र रुकुम पश्चिममा ५६.२४ प्रतिशत मत खसेको छ।
सबैभन्दा कम मतदान दैलेख क्षेत्र नं. २ मा ३९.४० प्रतिशत र दैलेख क्षेत्र नं. १ मा ४२.१९ प्रतिशत रहेको छ। प्रदेश राजधानी रहेको सुर्खेतका दुई निर्वाचन क्षेत्रमा औसत ५१ प्रतिशत मतदान भएको छ।
जिल्लागत मतदानको अवस्था (बेलुका ४ बजेसम्म):
सुर्खेत (१ र २): १,२८,८६२ मत
सल्यान: ७३,१०४ मत (४४.४०%)
जाजरकोट: ५८,२९९ मत (५३.७४%)
कालीकोट: ३६,०९३ मत (४२.४४%)
जुम्ला: ३७,५८० मत (५१.८७%)
९४१ केन्द्रमै शान्तिपूर्ण मतदान
कर्णालीका कुल ९४१ मतदान स्थलमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको थियो। केही छिटपुट विवादका घटनाबाहेक सबै क्षेत्रमा मतदान प्रक्रिया शान्तिपूर्ण र मर्यादित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ४ बजेको समय सीमाभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताहरूलाई मतदान गर्न दिइने भएकाले अन्तिम मत प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।
अहिले धेरैजसो मतदान केन्द्रहरूमा मतदान कार्य सम्पन्न भई मुचुल्का उठाउने र मतपेटिका संकलनको तयारी भइरहेको बुझिएको छ।











प्रतिक्रिया