सुर्खेत ।
कर्णाली प्रदेशका १२ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको छ। प्रदेशभर कुल १० लाख ३७ हजार २५० मतदातामध्ये ४ लाख २४ हजार ७५५ जनाले मतदान गरेका छन्।
प्राप्त विवरणअनुसार मतदान गर्ने महिलाको संख्या २ लाख २५ हजार ५९७, पुरुष १ लाख ९९ हजार १५७ तथा अन्य १ जना रहेका छन्।
जिल्लागत रूपमा हेर्दा मुगुमा सबैभन्दा धेरै ५५.२९ प्रतिशत मतदान भएको छ भने डोल्पामा ५३.३१ प्रतिशत र रुकुम पश्चिममा ५०.६१ प्रतिशत मतदान भएको छ। त्यसैगरी हुम्लामा ४८.८३ प्रतिशत, जाजरकोटमा ४४.६७ प्रतिशत र जुम्लामा ४४.२६ प्रतिशत मतदान भएको छ।
यस्तै सुर्खेत निर्वाचन क्षेत्र १ मा ३८.७२ प्रतिशत र क्षेत्र २ मा ४३.१५ प्रतिशत मतदान भएको छ भने दैलेख क्षेत्र १ मा ३४.७४ प्रतिशत र क्षेत्र २ मा २९.२२ प्रतिशत मतदान भएको छ। कालीकोटमा ३०.४२ प्रतिशत मतदान भएको छ।
प्रदेशभरका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्। सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।
निर्वाचन आयोगले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरेको छ। मतदान साँझ ५ बजेसम्म जारी रहने छ।












प्रतिक्रिया